प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनमा राजपत्रमा प्रकाशित अत्यावश्यक बाहेकका सेवा चैत ९ देखि २१ सम्म बन्द गर्ने घोषणा गर्नुभएको छ । अत्यावश्यक बाहेकका सेवा भने १२ दिन पूर्णरुपमा बन्द हुनेछ ।
प्रधानमन्त्री ओलीले सम्बोधनको एउटा बुँदामा भन्नुभएको छ । ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।’
प्रधानमन्त्रीले सबै सरकारी कर्मचारी र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीले यथावत् रूपमा आ–आफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्न पनि भन्नुभएको छ ।
प्रधानमन्त्री ओलीले बन्द गर्ने घोषणा गर्नुभएका अत्यावश्यक बाहेकका सेवा के–के हुन् त ?
राजपत्रको भाग ५ मा आवश्यक सेवाबारे उल्लेख छ । र, तिनमा हड्ताल गर्न रोक लगाइएको छ । राजपत्रमा १७ वटा अत्यावश्यक सेवा उल्लेख गरिएको छ ।
१. डाँक, तार वा टेलिफोन सेवा
२. जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्न यातायात सेवा
३. हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
४. हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
५. प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा
६. हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा
७. सञ्चार सेवा
८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
९. खानेपानीको सञ्चालन तथा वितरण सेवा
१०. पर्यटन आवास, मोटल, होटल, रेष्टुँरा र रिसोर्टसम्बन्धी सेवा
११. पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
१२. अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
१३. फोहरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापनसँग सम्बन्धित सेवा
१४. बैंकिङ सेवा
१५. वीमा सेवा
१६. विद्युत् सेवा
१७. दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दालचामल, नुन, तेल)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
प्रधानमन्त्रीको घोषणाअनुसार चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यकबाहेक यि १७ क्षेत्र बाहेकका सरकारी, निजी कार्यालय बन्द हुने छन् ।
कोरोना भाइरसको सन्त्रास बढिरहेका बेला सरकारले स्पष्टरुपमा ‘लकडाउन’ नभने पनि अन्तर्राष्ट्रिय अभ्यास अनुसार ‘लकडाउन’ कै पहिलो चरण सुरु गरेको हो ।
प्रतिक्रिया