कोरोना नियन्त्रणका लागि सरकार अब ‘एक्सन’मा – मन्त्री खतिवडा


अर्थ, सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकार एक्सनमा गएको बताएका छन् ।आज (शनिबार) बसेको उच्चस्तरीय समितिको बैठकमा भएको छलफल बारे जानकारी दिँदै मन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा शुक्रबार गरेको सम्बोधनको कार्यान्वयनका लागि प्रभावकारी कदम चाल्ने निर्णय भएको बताए ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन प्रभावकारी कदम चाल्ने भन्दै मन्त्री खतिवडाले त्यसको व्यवस्थापनका लागि विभिन्न ६ वटा कार्यदल गठन गरेको जानकारी दिए ।

स्थानीय, प्रदेश र केन्द्रीय तहबाट कोरोना संक्रमितको लागि राखिने क्वारेन्टाइन बनाइएको र सञ्चालनका लागि सरकारलाई अनुरोध आएको भन्दै खतिवडाले निर्माण भएका क्वारेन्टाइनलाई आइसोलेटेट गरी एकद्वार प्रणालीबाट सञ्चालन गरिने बताए ।