हामी भगौडा होइनौं, घर फर्कन किन रोक्ने ?’
भारतमा कोभिड–१९ संक्रमणको त्रास र नेपाल–भारत सीमा बन्द हुने हल्लाका बीच दिल्लीलगायतका ठाउँमा विभिन्न पेसा र मजदुरी गर्दै आएका नेपाली धमाधम फर्कन थालेका छन् । फर्कंदै गरेका नेपालीले आफूहरू भगौडा नभएकाले नेपाल प्रवेश गर्नबाट रोक्न नमिल्ने बताएका छन् ।
कोरोना संक्रमणले त्रसित यी नेपालीलाई सीमा बन्दको हल्लाले थप सताएको छ । यही चिन्ताले हुन सक्छ, हुँदाखाँदाको व्यापार–व्यवसायसमेत चटक्क छाडेर हिँडेका नेपालीको अनुहारमा घर फर्कन पाउनुको खुसीभन्दा हतासा र चिन्ता बढी देखिन्थ्यो । तीन वर्षदेखि हरियाणाको गुडगावँस्थित होटलमा कुकको काम गर्दै आएका अर्घाखाँचीको भगवती गाउँपालिकाका होमबहादुर थापा कोरोनाको त्रास बढेपछि परिवारसहित घर फर्किने निर्णयमा पुगेका हुन् ।
दिल्लीको बिनोवापुरीस्थित बसपार्कमा भेटिएका उनले कोरोनाको त्रास हटेपछि फेरि दिल्ली फर्कने बताए तर सीमा बन्द हुने र रोक्नेलगायतका हल्लाले उनलाई बेचैन बनाएको छ । ‘अवस्था सामान्य भएपछि फर्किने भनेको, खै रोक्ने रे भन्ने हल्ला पनि सुन्छु, थाहा छैन के हुन्छ,’ उनले चिन्ता व्यक्त गरे । दिल्लीको बिनोवापुरीमा रहेको बस चढ्न पुगेका नेपालीमध्ये सबैजसो थापाको जस्तै चिन्तामा डुबेका थिए । दिल्लीको दरियागन्जमा व्यापार गर्दै आएका गुल्मी तम्घासका मेघराज केसीलाई पनि त्यही चिन्ताले पिरोलेको छ । उनी आफ्नो व्यापार बन्द गरेर घरतिर लागेका हुन् ।
उनका साथमा अन्य २५ जना आफन्त पनि छन् । केसीले आफूहरू सुरक्षाका लागि घर जान लागेको बताए । उनले कोरोनाको त्रासपछिको अवस्था हेरेर फर्कने/नफर्कने निर्णय गर्ने बताए । कोरोनाभन्दा पनि सीमा बन्दको हल्लाले बढी चिन्तित बनाएको उनले बताए । ‘हामी सधैंका लागि भारत आएका होइनौं, हामीलाई घर फर्कंदा कसरी रोक्न मिल्छ ?’ उनले भने, ‘नेपाल फर्किन रोक्ने हो भने हामी कहाँ जाने ?’
केसीकै जस्तो धारणा बुटवलका विक्रम खत्रीको थियो । १५ वर्षदेखि दिल्लीमा रहेका खत्रीले आफूहरू भगौडा नभएकाले देश फर्कनबाट कसैले रोक्न नसक्ने बताए । ‘हामी परीक्षणका लागि तयार छौं तर आफ्नो देश नआइज भनेर कसरी भन्न मिल्छ ?’ उनको भनाइ छ ।
नेपाल जान लागेकामध्ये केहीलाई नफर्किने डरले साहुले यसअघिको तलब नदिएर गाडी भाडा मात्र दिएका छन् । केहीले त भाडासमेत आफैं जोहो गरेका छन् । उनीहरूलाई आफ्नो तलबभन्दा घरपरिवारलाई भेट्ने चिन्ता बढी छ । घर फिर्न लागेकामध्ये प्रायः सबैले व्यक्तिगत सुरक्षाका कारण जान लागेको बताए । ‘आफ्नै सुरक्षाका लागि जान लागेका हौं, कसैले जबर्जस्ती गरेको होइन,’ बुटवलका विनोद केसीले बताए ।
कोभिड–१९ संक्रमण त्रासका कारण हुँदाखाँदाको व्यापार/व्यवसाय बन्द गरेर हिँड्नेमध्येका हुन् दाङ, रामपुरका मीनबहादुर बुढाथोकी । गजियाबादमा रहेको उनको फास्टफुडले केही साताअघिसम्म राम्रै व्यापार गरिरहेको थियो तर कोभिड–१९ को त्रास बढेसँगै व्यवसायको प्रवाह नगरी उनी परिवारसहित घर हिँडेका छन् । ‘पसलमा लाखौंको सामान छ, त्यत्तिकै सटर लगाएर हिँडें,’ उनले भने । उनले घरभेटीलाई उल्टो एक महिनाको भाडासमेत दिएको बताए । ‘कमाइ त पछि भइहाल्छ, ज्यान ठूलो कुरा हो,’ उनले थपे । बुढाथोकीले सीमामा स्वास्थ्य परीक्षण गर्नुपर्ने तर गाउँघर फर्किन दिनुपर्ने बताए । ‘जसरी पनि घर जाने हो, हिँडेरै भए पनि जाने,’ उनले भने । कोभिडको त्रास कम भएपछि परिवारलाई छाडेर भए पनि दिल्ली फर्कने उनको योजना छ ।
त्यस्तै प्यूठान बटडाँडाका कृष्णा रानामगरले पनि त्रासकै कारण फर्कन लागेको बताए । दिल्लीको लाजपत नगरको एउटा रेस्टुराँमा चार वर्षदेखि कुकको काम गर्दै आएका रानामगरका अनुसार घर जानका लागि साहुले भाडा दिएको छ । ‘कोरोनाको त्रास हटेपछि फर्किनेबारे सोच्ने हो, अहिल्यै कहिले फर्किने भन्न सकिँदैन,’ उनले भने ।
कोरोनाको बढ्दो त्राससँगै नाका बन्द हुने हल्लाले केही दिनयता दिल्लीबाट स्वदेश फर्किने नेपालीको संख्या बढेको बस व्यवसायीको पनि अनुभव छ । दिल्ली–काठमाडौं चल्ने सुपा देउराली टुर्स एन्ड ट्राभल्स बस सेवाका सञ्चालक शोभाकर पन्थीले पनि कोरोना त्राससँगै नाका बन्दको हल्लाले पछिल्ला केही दिन नेपालीको फर्किने क्रम अस्वाभाविक ढंगले बढेको बताए ।
उनका अनुसार अरू बेला आफूहरूले बढीमा तीनवटा बस सञ्चालन गर्ने गरेकामा शनिबार मात्र नेपालका विभिन्न गन्तव्यका लागि दसवटा बस छुटेका छन् । नेपाल जाने यात्रुमध्ये अधिकांश बुटवल, गुल्मी, अर्घाखाँची र दाङ आसपासका भएको उनको भनाइ छ । सयौं नेपाली टिकट नहुँदा जान नपाएको उनले बताए । ‘सबैमा भाइरसको त्रास र घरै जान पाइन्न कि भन्ने चिन्ता देखिन्छ, जो जसरी भए पनि घरपरिवारसम्म पुग्न चाहन्छन्,’ उनले भने, ‘कतिपयसँग त भाडा पनि छैन तर उनीहरू जुनसुकै हालतमा नेपाल जान चाहन्छन् ।’
प्रतिक्रिया