Logo

अमेरिकामा दुई नेपालीलाई कोरोना भाइरस संक्रमण, एक जना गम्भिर !

अमेरिकाको न्यूयोर्क राज्य बस्दै आएका दुई जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुवै जनालाई अहिले कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । दुई जनामध्ये ५० वर्षीय एक नेपालीको अवस्था गम्भीर रहेको छ ।

पुष्टि भएकामध्ये ४७ वर्षीय एक नेपालीले न्यूयोर्कमा उबर नामक ट्याक्सी चलाउँदै आएका थिए । पारिवारिक स्रोतकाअनुसार उबर चलाउने उनलाई शुरुमा उच्च ज्वरो आएपछि अस्पताल पुर्‍याइएको थियो । चिकित्सकको सल्लाह बमोजिम चार दिनपछि फलोअपका लागि अस्पताल पुग्दा उनको अक्सिनको लेबल कम भएको र निमोनिया देखिएको जनाइएको छ ।

उनकी श्रीमतीका अनुसार कोरोना संक्रमणपछि परिवारको स्विकृतिमा अस्पतालले नशाबाट दिइने सेन्टरलाइन औषधी चलाएको छ । उनले प्रेसरको औषधी प्रयोग गर्दै आएका थिए तर उनलाई अन्यरोगको समस्या भने नरहेको बताइएको छ ।

यस्तै आइतबारनै न्यूयोर्क राज्यमै बसोबास गर्ने अर्का एक ५० वर्षीय नेपालीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई पनि उच्च ज्वरो आएपछि अस्पताल पुर्‍याइएको थियो। उनको अवस्था अहिले गम्भीर रहेको र श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेको जनाइएको छ ।

अस्पताल भर्ना भएका ५० वर्षीय ती नेपालीका छोराले दिएको जानकारीअनुसार उनलाई पहिले देखिनै मधुमेहको समस्या थियो । परिवारका सबै सदस्यको कोरोना चेकअप गरिएको र उनीहरुको मंगलबारसम्म रिर्पोट आउने बताइएको छ । परिवारका बाँकी सदस्य भने घरमै बसिरहेका छन् ।

अमेरिकामा सक्रमणको संख्या तीव्र

कोरोना भाइरस संक्रमितको संख्या अमेरिका तीव्र रुपमा बढ्दै गएको छ । संक्रमितको संख्याका आधारमा अमेरिकामा अहिले तेस्रो स्थानमा छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ४४० पुगिसकेको छ भने संक्रमितहरुको संख्या ३३ हजार ३०० नाघेको छ ।

संक्रमितको अवस्था हेर्दा अमेरिकाको न्यूयोर्क राज्यमा सबैभन्दा धेरै संक्रमति छन् । यस राज्यमा १५ हजारभन्दा बढी संक्रमित देखिएका छन्, भने ११७ को मृत्यु भइसकेको छ । यसैगरी वासिङटन, न्यूजर्सी, क्यालिफोर्निया राज्यमा संक्रमितहरुको संख्या १५ सयभन्दा बढी छ । अमेरिकाका सबै राज्यमा संक्रमण पुष्टि भइसकेको छ भने आइतबार मात्रै ज्यान गुमाउनेहरुको संख्या करिब १०० पुगेको छ ।

चौतर्फी संत्रास फैलाएको कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म तीनलाख ३६ हजार संक्रमित छन्, भने १४ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । हालसम्म विश्वभर करिब ९७ हजारभन्दा बढीको सफल उपचार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्