Logo

चैत ४ मा कतार एयरवेजमा यात्रा गर्नेहरुलाई त्रास

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भेटिएको खबरसँगै उनी कुन विमानबाट आएको थियो भन्ने चासो बढ्यो ।४ चैतका काठमाडौं उत्रिएकी उनी कतार एयरवेजबाट काठमाडौं आएको खुले पनि फ्लाइट नम्बर खुलेको छैन । सरकारले न उनी सवार विमानबारे जानकारी दिएको छ, न त्यो विमानमा सवार मानिसहरुलाई सम्पर्क गरेको छ ।

यसले झन् अन्यौल बढेको छ । र, ४ चैतमा कतार एयवेजको विमानबाट आएकाहरु आफैं अस्पतालको सम्पर्कमा पुग्न थालेका छन् ।

उनीहरु मध्ये एक हुन्, उदयपुरका वेलका नपा–३ का युवक । कोरोना संक्रमित भएकी युवती ४ चैतमा कतार एयरवेजबाट आएको थाहा पाएपछि उनी आत्तिए । विहानभर मकै गोडेर थाकेका उनलाई ज्वरो आएझैं भयो ।वेलका नगरपालिका मेयर दुर्गाकुमार थापालाई फोन गरे र आफू पनि ४ चैतमा कतार एयरवेजको विमानबाटै आएको सुनाए । मेयरले चिकित्सक कहाँ जान सुझाए तर स्थानीय चिकित्सक चेकजाँच गर्न डराएको मेयर थापाले सुनाए ।

कोरोना संक्रमितको उपचार गर्दा सुरक्षाका लागि लगाउन पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) नभएका कारण एम्बुलेन्स चालकले पनि अस्पतालसम्म लैजान सक्ने अवस्था नरहेको मेयर थापाले बताए ।‘स्थानीय चिकित्सकले जाच्न मान्दैनन, अस्पताल लैजान सुरक्षा सावधानी अपनाउने सामाग्री छैन’ मेयर थापाले भने, ‘प्रदेश सरकार र सीडीओलाई मैले बारम्बार सम्पर्क गरेँ । सेल्फ क्वारेनटाइनमा राख्नु मात्रै भन्नुहुन्छ ।’

उदयपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दीपक पहाडीले कतार एयरवेजबाट काठमाडौं ओर्लिएको पुष्टि भएकाले उनलाई सेल्फ क्वारेनटाइनमा बस्न भनिएको बताए ।‘म आफैंले कुरा गरेँ । टाउको दुख्ने, ज्वरो आउने केही भएको छैन भन्नु भयो’ उनले भने, ‘त्यसपछि परिवारसँगै नबसेर सेल्फ क्वारेनटाइनमा बस्नु भनेका छौं ।’

प्रतिक्रिया दिनुहोस्