रौतहटमा हालसम्म २४ जना क्वारेन्टाइनमा बसे !
रौतहट जिल्लामा हालसम्म २४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतका विभिन्न स्थानहरुबाट आएका व्यक्तिहरुलाई जिल्लाको गौर र चन्द्रपुर नगरपालिकामा क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार गौर नगरपालिकाको नर्सिङ्ग कलेजमा स्थापना गरिएको क्वारेन्टाइनमा १६ जना र चन्द्रपुरमा ६ जनालाई राखिएको छ । गौर स्थित क्वारेन्टाइनमा राखिएकाहरु गौर नगरपालिका र राजदेवी नगरपालिका रहेको बताइएको छ । उनीहरु बेंगलुरु, केरला लगायतका स्थानहरुबाट आएका हुन् । उनीहरुमा कोरोना भाइरसको प्रारम्भिक त्यस्तो केही लक्षण नदेखिए पनि आफ्नै सुरक्षाको लागि क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । उनीहरु सबैको स्थिति सामान्य रहेकाले त्यस्तो आतिनुपर्ने केही नरहेको उहाँको भनाइ छ ।
यता जिल्लाकै चन्द्रपुर नगरपालिकामा पनि ८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । केही समय अगाडि भारतको तमिलनाडुबाट फर्किएका गुजरा नगरपालिकाका उनीहरुलाई हाल चन्द्रपुर सरकारी अस्पतालमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्ड श्याम गुप्ताले जानकारी दिनुभयो । हाल आठैजना पूर्ण रुपमा स्वस्थ्य देखिएको र ज्वोरो, रुघाखोकी केही पनि नदेखिएको उहाँले बताउनुभयो । उनीहरु बुधबार राती अस्पतालको सम्पर्कमा आएको र प्रारम्भिक स्वास्थ्य जाँच पछि उनीहरुलाई अस्पतालमै क्वारेन्टाइनमा राखिएको उहाँको भनाइ छ ।
चन्द्रपुर नगरपालिकाले चन्द्रपुर ६ मा निर्माण गर्न लागेको क्वारेन्टाइन संचालनमा आइनसकेकोले हाललाई अस्पतालमै राखिएको र सो क्वारेन्टाइन संचालन आएपछि उनीहरुलाई त्यहीँ पठाइने तयारी भइरहेको अस्पतालले जनाएको छ । ‘उहाँहरु भारतबाट फर्किएर आउनुभएको रहेछ , आफ्नो सुरक्षाको लागि स्वतः स्फुर्त रुमपा आफै अस्पताल आउनुभएको हो’ गुप्ताले भन्नुभयो, ‘ उहाँहरुमा हाल कोरोना भाइरसको कुनैपनि लक्षण देखिएको छैन् , तैपनि हामी उहाँहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्छौँ । आतिनुपर्ने कुनै अवस्था छैन् ।’ अस्पतालमा क्वारेन्टाइनमा राखिएका आठैजनामा कुनैपनि लक्षण नभेटिएकाले उनीहरुले चाहेमा घरमै पनि क्वारेन्टाइनमा बस्न सक्ने गुप्ताले बताउनुभयो ।
जिल्लामा विभिन्न स्थानीय तहहरुले क्वारेन्टाइन निमार्ण गरेर संचालनमा ल्याएका छन् । विशेषगरी विदेशबाट फर्किएकाहरु स्वतःस्फूर्त रुपमा आफ्नो सुरक्षाको लागि क्वारेन्टाइनमा बस्न आउने गरेका छन् ।