Logo

हेर्नुस त यस्तो पनि हुँदो रहेछ कोरोनामा !,मैले बैठक कोठाबाट मेरो श्रीमानलाई फोन गरेँ।

‘तिमीलाई कस्तो छ प्रिय?’ मैले बैठक कोठाबाट मेरो श्रीमानलाई फोन गरेँ।

म केही दिनदेखि यही बैठकमा सुतिरहेकी छु। भुइँमा फोमवाला स्लिपिङ ब्याग ओछ्याउँछु र त्यसमाथि दुइटा पातला ब्ल्याङ्केट खप्ट्याएर निदाउने कोशिस गर्छु। यो स्लिपिङ ब्याग मेरी छोरीको हो। उसले क्याम्प जाँदा लैजाने गर्थी।

भुइँमा सुत्न निकै गाह्रो हुने रहेछ। निद्रै नपर्ने। सुरूमा त यताउति कोल्टे फेरेरै छर्लंग रात कट्यो। यस्तो बेला कम्तिमा निद्रा पूरा गर्नुपर्छ भनेर सोफामा पनि सुत्ने कोशिस गरेँ। त्यहाँभन्दा बरू भुइँमै सजिलो लाग्यो।

‘मलाई मद्दत चाहियो,’ मेरो श्रीमानले कान नजिक आएर साउती मारेजस्तो सुस्तरी भने।

उनले चिसोबाट बच्न ऊनीको भित्री लुगा र ऊनीकै स्वेटर लगाएका थिए। तै पनि चिसोले उनको स्वर काम्दै थियो, ‘म तिमीलाई ब्युँझाउन चाहन्थिनँ।’

मैले बाथरुममा एउटा प्लास्टिकको बट्टाभित्र सबै चाहिँदो औषधि राख्दिने गरेकी छु। त्यो रात भने ‘एड्भिल’ भन्ने दुखाइको औषधि छाड्न बिर्सेछु।

उनी सुत्ने कोठा, उनले प्रयोग गर्ने बाथरुम केही दिनअघिसम्म हाम्रो साझा थियो। अहिले बाथरुमको आधा खण्ड उनको निजी भएको छ। आधा खण्ड म र हाम्री छोरी प्रयोग गर्छौं।

हुन त औषधिको पूरा सिसी नै बाथरुममा छाडे पनि हुन्थ्यो, तर त्यसो गर्न मिल्दैन। चाहिनेजति मात्रा अर्को सानो बट्टामा भरेर बाँकी सिसी छुट्टै राख्नुपर्छ। नभए उनले छोएको सिसी अरूले प्रयोग गर्दा संक्रमण सर्न सक्छ।

पहिले यो घरमा मेरो वा तेरो भन्ने नै थिएन। सबै हाम्रो थियो। यो घर हाम्रो थियो, यसमा भएका सारा चिजबिज हाम्रा थिए। हाम्रो सपना, हाम्रो संसार– यो जगतै हाम्रो थियो। हामीबीच कुनै दुरी थिएन। कस्तो समय आयो भने, हाम्रा भनिएका केही पनि अब हाम्रा रहेनन्! मायाले दुरी छोट्टयाउँछ भनिन्छ, यहाँ मायाले दुरी बढाइरहेको छ। म उनको नजिक जान सक्दिनँ, न उनलाई मेरो नजिक आउन दिन सक्छु। किनकि हामी दुवै एकअर्कालाई माया गर्छौं, खुब माया गर्छौं।

दुरी जति बढ्यो, माया उति गाढा हुन्छ भन्छन्। यो सही हो भने जुन दिन हामीले यो संकटबाट पार पाऔंला, त्यो दिन हाम्रो मायाको रङ निख्खर गाढा हुनेछ, त्यो पक्का हो।

यो हाम्रो मायाकै कारण त हो, उनले छोएका चिजबिज सबै उनकै कोठामा राख्नुपर्छ। वा, त्यसलाई निकै होसियारी साथ भान्सामा लगेर सफा गर्नुपर्छ।

म उनले छोएका भाँडा र अरू सामान अलग्ग समातेर लैजान्छु। हाम्री १६ वर्षे छोरी भान्सामा मलाई सहयोग गर्न आउँछे। ऊ धारा खोल्छे, म ती सामान पानीमा चुर्लुम्म डुबाउँछु। हामी नाङ्गो हातले ती सामान नछोइयोस् भनेर सतर्क रहन्छौं। त्यसपछि छोरी मेरो हातमा साबुनका थोपा झारिदिन्छे। म साबुनले आफ्ना सबै औंला, नङ, नाडी र कुइनासम्म राम्ररी माडेर सफा गर्छु।

हाम्रो हरेक दिन अचेल यसैगरी बितिरहेको छ।

हामी न्यूयोर्कको ब्रुकलिनमा बस्छौं। मेरा श्रीमान ५६ वर्षका भए। उनी अग्ला छन्। हरेकदिन ब्रुकलिनदेखि जमैका बेसम्म साइकल कुदाएर जान्थे। जाँदा–आउँदा करिब पाँच घन्टा साइकल चलाउँथे। केही दिनदेखि उनको साइकलको पाइडल थामिएको छ। दिनभरि सक्रिय रहने मेरो श्रीमान अचेल दिनभरि बिछ्यौनामा लम्पसार पल्टेका हुन्छन्। एकोहोरो दलिनतिर टोलाइरहन्छन्। बीच–बीचमा ढाडका हड्डी कटकटी खान्छ कि क्या हो, ओल्टोकोल्टो फेरिरहन्छन्।

उनले केही दिनदेखि एउटै लुगा लगाइरहेका छन्। म उनको लुगा फेराइदिन चाहन्छु, तर कसरी फेराउने?

एक त उनको जीउबाट लुगा फुकालेर अर्को लगाइदिनै गाह्रो छ, त्यसमाथि लुगा फेर्दावर्दा उनलाई छोइने डर उत्तिकै। थाहा छ मलाई, आज उनलाई जिन्दगीमै सबभन्दा बढी मेरो स्पर्सको खाँचो छ। तर, यो पनि थाहा छ, जिन्दगीमै सबभन्दा बढी निरीह हामी अहिले नै छौं। यस्तो निरीह, हामी एकअर्कालाई छुनधरि सक्दैनौं।

आज बाह्र दिन बित्यो। मार्च १२ को मध्यरात उनी चिसोले कठ्याङ्ग्रिदै निद्राबाट ब्युँझेका थिए। त्यो बेला अमेरिकामा कोरोना भाइरस तीव्र गतिले फैलिएको खबर आउँदै थियो। मैले उनलाई भोलिपल्टै जचाउन जाउँ भनेँ। उनले आफूलाई सन्चो भएको बताए।

केही समयमा उनी फेरि काम्न थाले। जीउ कटकटी खायो भन्दै थिए। मैले उनको ज्वरो नापेँ। सय डिग्री नाघेको थियो।

लक्षण देखिएको दुई दिनपछि हामी क्लिनिकमा जचाउन गयौं। उनलाई केही महिनाअघि दम बढेर इमर्जेन्सीमा भर्ना गर्नुपरेको थियो। डाक्टरले कोरोना भाइरस परीक्षण गरे र घरमा कसैलाई नछोई बस्नू भने।

त्यो दिनपछि हाम्रो साझा बेडरुम र बाथरुम उनको निजी भएको छ। हाम्रो कोठा अपार्टमेन्टको अगाडिपट्टि पर्छ। बाहिर सडकमा ट्रक र गाडी कुदिरहन्छन्। केही पर न्यूयोर्क बन्दरगाहबाट ठूल्ठूला जहाजका चर्का आवाज घरिघरि कान खान आइरहन्छन्। उनी ती आवाज सुनेर झिँझो मान्छन्। गुनासो गरिरहन्छन्।

उनी यति कमजोर भइसके, खाटबाट उठ्न पनि सक्दैनन्। विस्तारै घस्रँदै बाथरुमसम्म जान्छन्। हामीले बेडरुमको ढोका टम्म बन्द गरेका छौं, ताकि हाम्रो बिरालो त्यो कोठामा पस्न नपाओस्। ऊ बेलाबेला कोठाभित्र छिर्ने मौका ताकिरहन्छ, तर हामी सतर्क रहन्छौं। उसलाई त्यो कोठाको छेउछाउ पनि पर्न दिन्नौं। ऊ रिसाएर बैठक र भान्सातिरै म्याउँ गरिरहन्छ।

डाक्टरले उनलाई ‘कोरोनो भाइरस लागेका बेला के गर्ने?’ भनेर लेखिएको पर्चा दिएका थिए। निद्रा नपरेका बेला उनी त्यही पढिरहन्छन्। पर्चामा लेखिएको छ, ‘आफूलाई परिवारका सदस्य र घरका जनावरबाट अलग्गै राख्नुस्।’

तीन दिनपछि डाक्टरले फोन गरे, ‘कोरोना भाइरस परीक्षण रिपोर्ट पोजेटिभ आयो।’

त्यति बेला मेरो श्रीमान ओछ्यानमा पल्टेर न्यूयोर्कमा बिरामी बढेको खबर पढ्दै थिए। अस्पतालमा बिरामी खचाखच भरिएको, कतिपयलाई सास फेर्न गाह्रो भएर भेन्टिलेटरमा राखिएको र थुप्रै बिरामीको मृत्यु भइसकेको विवरण खबरमा थियो।

जुन भाइरसले संसारलाई आफ्नो कब्जामा लिएको थियो, मेरो श्रीमान त्यही भाइरससँग जुधिरहेको पुष्टि भएपछि म खङरङ्ग भएँ।

पहिलोचोटि क्लिनिकमा जचाएर आउनेबित्तिकै मैले हाम्रो साझा बेडरूम उनको निजी प्रयोगलाई सुम्पेकी थिएँ। आफ्नो बेडरुमबाट बाहिर निस्केर बैठकको भुइँमा ओछ्याउन लगाएको त्यो पहिलो रात थियो।

त्यस रात म र मेरी छोरीले अबेरसम्म एचबिओ च्यानलमा आउने ‘चेर्नोबिल’ सिरिज हेरेका थियौं। त्यो सिरिज सन् १९८६ मा भएको आणविक दुर्घटना र त्यसपछिका घटनाक्रममा आधारित छ।

त्यो रात हामीले लगातार तीनवटा शृंखला हेर्‍यौं। अब त्यो समय धेरै पछाडि छुटिसक्यो कि भन्ने मलाई लाग्न थालेको छ। हामीलाई टेलिभिजन हेर्ने फुर्सद छैन। यताउति दौडिरहनुपर्छ। बिहानदेखि बेलुकीसम्म पटक–पटक उनको निम्ति खाना बनाउनुपर्छ। खाइवरी भाँडाकुँडा सफा गर्ने, उनले छोएका सामान पखाल्ने र उनलाई समय–समयमा औषधि खुवाउँदैमा हामी आमा–छोरीको दिन बित्छ।

उनको ज्वरो पनि घरिघरि नापिरहनुपर्छ। अक्सिजन चाहिएको छ कि छैन हेर्नुपर्छ। र, यी सबका बीच पटक–पटक आफ्नो हात धुनुपर्छ।

म हरेकचोटि उनको ज्वरो नापेपछि र अक्सिजन जाँचेपछि डाक्टरलाई म्यासेज पठाउँछु। ज्वरो बढेर १०१.५ पुगेको छ। दम पनि बढेको छ। उनी सिरकले मुख छोपेर खोकिरहन्छन्। चिसोले काम्दा ब्ल्याङ्केट घुँडासम्म गुटुमुटु पार्छन्। म डाक्टरलाई पल–पलको खबर दिन्छु।

‘तिमी यहाँ कोठाभित्र नआऊ,’ म एकछिन कोठाभित्र बस्दा पनि उनी आत्तिन्छन्।

उनको अत्यास दिउँसोभन्दा राति अझ बढ्छ, जब उनको शरीर तापिएर पसिनाले लुछुप्पै भिज्छ, घरि जाडोले थरथर काम्छ। उनी त्यति बेला असहाय देखिन्छन्। आफ्नो मायालुलाई असहाय देख्दा पनि म निरीह छु।

हाम्री छोरी हाईस्कुल पढ्दै छे। मार्च १३ देखि उसको स्कुल बन्द छ। अहिले न्यूयोर्कका अरू सार्वजनिक स्कुलजस्तै उसको स्कुलले पनि इन्टरनेट कक्षा चलाउने तयारी गर्दैछ। केही दिनदेखि ऊ र उसका साथीहरूलाई इन्टरनेट कक्षा कसरी चल्छ, कुन बेला चल्छ, त्यसमा कसरी भाग लिने लगायत सूचना तारन्तार आइरहेका छन्।

स्कुलले भनेको छ, ‘यो छुट्टीको याम होइन, हामी इन्टरनेटबाट नियमित कक्षा चलाउने छौं।’

तर, आफ्नो बुबाको यस्तो अवस्थामा मेरी छोरी पढाइमा ध्यान दिन सकिरहेकी छैन। म यी सबै विवरण खुलाएर उसका प्रिन्सिपल र शिक्षकलाई इमेल लेख्छु। त्यो इमेलको ड्राफ्ट पूरा दिन मेरो कम्प्युटरमा खुल्लै रहन्छ।

यसबीच म डाक्टरलाई म्यासेज पठाउँछु। मेरो श्रीमानका पाँच जना दाजुभाइलाई ‘ग्रुप–च्याट’ मा डाक्छु। आफ्नो आमाबुबा र भाइलाई म्यासेज गरेर हालखबर सुनाउँछु। उनको व्यापार साझेदार, कर्मचारी र उनका अतिमिल्ने साथीहरूलाई उनको अवस्था बताउँछु। आफ्ना साथीलाई पनि आफ्नो हालत सुनाउँछु।

जवाफमा सबैले प्रार्थना पठाउँछन्। म्यासेज बक्समा रातो पानको पात आउँदा मलाई उनीहरूले आफ्नो सिंगो मुटु नै पठाइदिएजस्तो लाग्छ। यी सबै मुटुका अलिअलि टुक्रा जोडेर उनको प्राण लम्ब्याउन पाए त!

उनी ओछ्यानबाटै यी सबै हेरिरहन्छन्। प्रत्यक्ष कुराकानी गर्न भने सक्दैनन्। कहिलेकाहीँ कसैसँग फोनमा कुरा गरे, एकैछिनमा उनको सास फुल्न थाल्छ।

‘तिमी जे हो त्यही भन्ने गर है,’ उनी भन्छन्, ‘मलाई ठीक छ, सन्चो हुँदैछ भनेर झुटो भरोसा नदेऊ।’

उनले यसो भन्दा मेरो मुटु भित्रैसम्म स्याइँय्य गर्छ।

उनी अचेल घरिघरि आफूले लगाइरहेको खैरो स्वेटर सुम्सुम्याइरहन्छन्। एकचोटि एकदमै जाडो लाग्दा उनले आफ्नो बुवाको खैरो ऊनी स्वेटर मसँग मागेका थिए। उनको बुवा जीवित हुँदा त्यही स्वेटर लगाउँथे। धेरै दिन भयो, उनले त्यो स्वेटर फुकालेका छैनन्।

यस्तो क्षण पनि अजीबको हुँदो रहेछ। म यहीँ छु, तर यहाँ छैन। मेरा मायालु यहीँ छन्, तर यहाँ छैनन्। यस्तो लाग्दैछ, हाम्रो समय डेढ गुना गतिमा कुदिरहेको छ। वरिपरिका सबै मान्छे वर्तमानमा छन्, हामी उनीहरूलाई अतीतमा छाडेर अगाडि बढिसक्यौं। साथमा हाम्री छोरी छे, जो आमाबाबुको यस्तो संवेदनशील घडीमा प्रत्यक्षदर्शी बनेकी छ।

म र मेरी छोरी अहिले घरको आधा बाथरुम प्रयोग गर्छौं। आधा खण्ड मेरो श्रीमानका लागि छुट्टयाइदिएका छौं। यी दुई खण्डबीच लसपस नहोस् भनेर हामी सजग रहन्छौं। उनले बाथरुम प्रयोग गरिसकेपछि कसैगरी भाइरस उडेर यताउति पुग्ला भन्ने मलाई हरपल डर लागिरहन्छ।

म सक्दो आफू र छोरीलाई सुरक्षित राख्ने प्रयास गर्दैछु। झ्यालढोका नियमित पुस्छु। बत्तीको स्विच, बाथरुमको नल, ग्यास हिटरमा भाइरस बसेको छ कि भनेर पटक–पटक पुछपाछ पार्छु। आफ्नो फोन पनि अल्कोहलवाला स्यानिटाइजरले सफा गर्छु।

छोरी र म हरेकदिन लुगा फेर्छौं। रूमाल र हामीले प्रयोग गरेका अरू कपडा पनि घरिघरि धोइरहन्छौं। जब छोरी नुहाउन खोज्छे, म सबभन्दा पहिला बाथरुमको हरेक कुना फिनेलले घसीघसी सफा गर्छु। श्रीमानले प्रयोग गरेका कुनै पनि सामान बाथरुममा रहन दिन्नँ। रुमाल, स्याम्पु, बडीवास सबै नयाँ राख्दिन्छु। र, छोरीलाई भन्छु, ‘यहाँका अरू कुनै पनि चिज हातले नछुनू। अलग्ग नुहाउनू र आफ्नो कोठामै गएर लुगा फेर्नू।’

म आफू पनि त्यसै गर्छु।

हामी नुहाइसकेपछि जब मेरो श्रीमान त्यही बाथरुम प्रयोग गर्छन्, सरसफाइको क्रम फेरि दोहोरिन्छ। कहिलेकाहीँ त मैले सफा गरेर ठिक्क पारिसकेपछि उनलाई बाथरुम प्रयोग गर्नुपर्छ। हामी उनलाई पहिले जान दिन्छौं। त्यसपछि फेरि बाथरुम सफा गरेर हामी प्रयोग गर्छौं।

मलाई आफ्नोभन्दा छोरीको चिन्ता छ। ऊ बिरामी होली कि भन्ने डर चाहिँ छैन। किनभने, ऊ पनि आफ्नो बुवासँगै बिरामी भई भने म दुवैको हेरविचार गर्न सक्षम छु। तर, कुनै दिन म आफैं बिरामी भएँ भने? मनमा यही डर बसेको छ। त्यही भएर म छोरीलाई कुन चिज कसरी सफा गर्ने, फोहोर वस्तु कहाँ फाल्ने, के गर्न हुन्छ, के गर्न हुँदैन भनेर लगातार सम्झाइरहन्छु।

बेलाबेला मनमा तर्कना उठ्छ– मेरो श्रीमान अस्पताल भर्ना हुनुपर्‍यो भने? रोग सल्केर म पनि उनीसँगै भर्ना भएँ भने? त्यो बेला के यी १६ वर्षकी केटी एक्लैले घरमा आफ्नो बन्दोबस्त गर्न सक्छे? उसले आफूलाई चाहिने सरसामान कहाँबाट ल्याउली? कति दिन बस्न सक्ली एक्लै?

एउटा कुरा भने मैले निधो गरिसकेँ, म उसलाई आफ्नो माइत पठाउँदिनँ। मेरा आमाबुवा ७८ वर्षका भए। लङ-आइल्यान्डमा बस्छन्। उनीहरू नातिनीलाई आफूसँगै राख्न तयार छन्, तर म तयार छैन। म मेरी छोरीलाई आफ्ना हजुरआमा–हजुरबुवाको मृत्युको कारण बनाउन चाहँदिनँ।

हरे कस्तो समय आयो! हामी सबै एकअर्कालाई माया गर्छौं, एकअर्काको भलो चाहन्छौं। एकअर्काको सुस्वास्थ्यको कामना गर्छौं। के माया गर्नेहरू पनि एकअर्काको मृत्युको कारण बन्न सक्छन्? सक्दो रहेछ, यस्तो पनि हुँदो रहेछ कोरोनामा।

कम्तिमा म मेरी छोरीलाई त्यसको हिस्सेदार बनाउन चाहन्नँ। उसले आफ्नो यो लडाइँ आफैं लड्नुपर्छ।

यस्ता कुरा मनमा खेलेर होला, अचेल बिहान ४ बजे नै मेरो निद्रा छ्याङ्ग हुन्छ। म भुइँमा छोरीको स्लिपिङ ब्यागभित्र गुट्मुटिएर एकतमास कुरा खेलाइरहन्छु। पर–परबाट आउने आवाज सुनिरहन्छु। भित्र बेडरुमबाट उनले बोलाए कि भनेर बेलाबेला कान टाठो पार्छु। बीचबीचमा बिरालो कोठाभित्र सर्‍याकसुरूक गरेको मेरो कानमा पर्छ।

घन्टौं यसरी मूर्तिवत् पल्टिँदा मलाई रात काट्न कठिन लाग्छ। हिजोआज निकै भयंकर लाग्छन् मलाई यी रात। अन्त्यहीन, सकसपूर्ण लामा।

एकरात उनले सुस्तरी छोरीको नाउँ लिए। पछि मलाई भनेका थिए, त्यति बेला छोरीलाई बोलाउँदा झन्डै उनको मुखबाट २० वर्षअघिकी पूर्वप्रेमिकाको नाउँ फुत्केको थियो रे। मान्छे सम्बन्धहरूलाई पछाडि छाडेर अगाडि त बढ्न सक्छ, तर सम्झनाहरू मुटुको कुनै कुनामा बसेर सँगसँगै आइरहेका हुन्छन् भन्ने हेक्कै हुन्न। कुन समय, कुन घडी मुटुको त्यो ढोका घरक्क उघ्रिन्छ, र मान्छेको अवचेतन मस्तिष्कमै भए पनि यादहरू सतहमा आइदिन्छन्।

सायद त्यो रात, उनको मुटुको त्यही ढोका उघ्रेको थियो।

मैले तीनचोटि उनलाई अस्पताल लग्ने प्रयास गरिसकेँ। डाक्टरले अस्पताल नै भर्ना गर्नुपर्ने समय नआएको बताएका छन्। मेरो मन भने मान्न तयार छैन। एकचोटि त बाथरुममा गएर क्वाँक्वाँ रोएँ। डाक्टरलाई भनेँ, ‘अचेल मेरो हात यस्तरी काम्छ, तपाईंलाई फोन गर्दा पनि गलत नम्बर डायल गरेछु कि भनेर डराउँछु।’

उनलाई सास फेर्न अप्ठ्यारो नहुञ्जेल अस्पताल भर्ना गर्न पर्दैन भनेर डाक्टरले भनेका छन्। मलाई भने सास फेर्न अप्ठ्यारो हुनुअघि नै अस्पताल भर्ना गर्न पाए हुन्थ्यो भन्ने लागेको छ।

यही उधेडबूनमा मैले न्यूयोर्क विश्वविद्यालयका एक इमर्जेन्सी डाक्टरसँग भिडिओ कल गरेँ। त्यहाँ २ सय ५० जना यस्ता डाक्टर बिरामी वा तिनका परिवारसँग कुराकानी गर्न खटाइएका छन्।

‘यो रोग दुईदेखि तीन साता रहन्छ,’ उनले भने, ‘बिरामीलाई अक्सिजन कम भएर सास फेर्न गाह्रो नभएसम्म घरमै राख्दा ठीक हुन्छ।’

मैले उनीसँग भिडिओ कल गर्नेबित्तिकै बेडरूमको ढोका खोलेर हेरेको थिएँ। उनी मस्त निदाइरहेका थिए। हलचल थिएन। एक मनले त डर पनि लाग्यो। कोठाभित्र गएर नजिकबाट उनको छाती चलेको छ कि छैन भनेर हेरेँ। खासमा म उनको सास चल्दैछ कि छैन भनेर जाँच्दै थिएँ।

म मेरा श्रीमान जीवित छन् कि छैनन् भनेर जाँच्दै थिएँ।

कुनै–कुनै रात उनलाई एकदमै गाह्रो हुन्छ। त्यस्तो बेला म जोखिम मोलेर भए पनि उनको नजिक बस्छु। ब्ल्याङ्केट बाहिरैबाट उनको हातमाथि आफ्नो हात राख्छु। विस्तारै उनको हात सुम्सुम्याउँछु। उनलाई ढाडस दिन्छु। उनी सन्चो मानेर आँखा चिम्लन्छन्। म उनको आँखाको ढकनीभित्र सानो डल्लो गुलगुल हल्लिरहेको हेर्दै गीत गुनगुनाउँछु। मलाई यही एउटा गीत गाउन आउँछ। यो गीत म सानो छँदा मेरी आमा र हजुरआमाले सुनाउनुहुन्थ्यो। मैले छोरीलाई पनि सुनाएँ, अचेल छोरीको बालाई सुनाउँछु।

यो गीतसँग चार दशकअघिको मेरो बाल्यकालीन सम्झना जोडिएको छ। थाहा थिएन, चार दशकपछि पनि म त्यही सम्झना पछ्याइरहेको हुनेछु।

आज धेरै दिनपछि उनी बाहिर निस्केका छन्। बाहिर निकै चिसो छ। फिरफिर हावा चल्दैछ। उनको ६ फुट १ इन्च अग्लो ज्यान त्यही हावामा फुरफुर हल्लिँदैछ।

उनले आफ्नो बुबाको खैरो ऊनी स्वेटर फुकालेका छैनन्। बरू त्यसमाथि अर्को ज्याकेट लगाएका छन्। अनुहारमा टम्म कसिएको सर्जिकल मास्कले खुम्चिएका आँखा झिमझिम पार्दै उनले मार्च महिनाको घामतिर हेरे, ‘अझै कति जाडो!’

हामीले दुवै हातमा पञ्जा लगायौं। मैले उनको कुइना समातेँ। हामी दुवै विस्तारै क्लिनिकतिर बढ्यौं।

अघिल्लो दिन उनलाई एकदमै गाह्रो भएको थियो। पहिलेभन्दा धेरै खोके। बढेको दम थाम्न इन्हेलरको प्रयोग धेरै नै गरे। खान पनि रूचि देखाएनन्। मैले चम्चाले जति खुवाएँ, त्यति मात्र खाए।

बिहान उठ्ने बेलामै उनको ज्यान पसिनाले भिजेको थियो। दिनभरि थाक्ने गरी खोके। बेलुकी सायद छोरीले सुन्ला भनेर सुस्तरी मसँग भने, ‘भर्खरै खोक्दा रगत देखियो।’

हामीले तुरुन्तै मोबाइल स्पिकरफोनमा राखेर डाक्टरसँग कुरा गर्‍यौं।

‘हामी सबै अन्दाजमै काम गरिरहेका छौं,’ डाक्टरले भने, ‘थुप्रै बिरामीले एक सातापछि पहिलेभन्दा आराम महशुस गरेका छन्। कतिपयलाई भने झन् झन् च्याप्दै गएको छ।’

यसरी भाइरसले च्याप्दै लैजाँदा सामान्यतया बिरामीलाई निमोनिया हुने कुरा हामीले पढेका थियौं। डाक्टरले उनलाई एउटा एन्टिबायोटिक खुवाउनू भनेर प्रेसक्रिप्सन पठाइदिए। हाम्रो अपार्टमेन्ट नजिकको औषधि पसल बन्द हुन एक घन्टा मात्र बाँकी थियो। मैले उनको साथीलाई म्यासेज पठाएँ। उनी औषधि ल्याइदिन तयार भए।

‘आउँदा थोरै सुन्तला पनि ल्याइदिन सक्छौ?’ मैले भनेँ, ‘उनलाई सुन्तलाको जुस खुवाउनुपर्नेछ। मसँग कोठामा एउटा मात्र बाँकी छ।’

डाक्टरले भोलिपल्ट बिहानै उनको छाती एक्सरे गर्न क्लिनिक डाके। त्यसैनिम्ति एकाबिहानै म अहिले उनलाई तीन ब्लक पर्तिरको क्लिनिकमा लगिरहेको छु।

उनी अहिले पनि आफ्नो सर्जिकल मास्कभित्र खोकिरहेकै छन्।

सडकमा मान्छेको हिँडडुल केही दिनअघिको दाँजोमा निकै पातलिएछ। न्यूयोर्कका गभर्नरले सहरबासीलाई सकेसम्म घरभित्रै बस्न निर्देशन गरेका छन्। केही व्यक्तिहरू दौडिरहेका पनि देखिन्थे। केही साताअघि त्यसरी दौडिनेमध्ये म पनि एक थिएँ।

मैले बाटोमा हिँडिरहेका मान्छेबाट ध्यान हटाउन उनलाई नजिकै बगैंचामा फूल फुल्न आँटेको कोपिला देखाएँ। म उनलाई अरूको नजरबाट पनि बचाउन चाहन्थेँ, ताकि मास्क लगाएर खोक्दै हिँडेको असक्तलाई देखेर मान्छे भयभीत नहोऊन्।

क्लिनिकमा मास्क लगाएका एक जोडीले हाम्रो निम्ति ढोका खोलिदिए। मास्क लगाएका व्यक्ति आफ्नो पालो पर्खंदै थिए। मेरो श्रीमान त्यहीँ एउटा कुर्सीमा टुसुक्क बसे। ढाड पछाडि तन्काए। आँखा चिम्म पारे। आँखाको ढकनीभित्र एउटा सानो डल्लो उसैगरी गुलगुल हल्लिरहेको थियो।

म आफ्नो पालो आएपछि रिसेप्सन डेस्कमा गएँ।

‘तपाईंको श्रीमानलाई कोरोना भाइरस देखिइसकेको छ,’ उनी आफ्नो कसिलो मास्क माथिबाट टुल्ल मलाई हेर्दै थिइन्।

उनले मलाई पनि एउटा मास्क दिइन्। मैले लगाएँ। त्यस दिन उनलाई नियमित जाँचिरहेका डाक्टर अर्कै क्लिनिकमा गएका रहेछन्। हामीले नयाँ डाक्टरलाई देखायौं। उनीहरूले पुरानो र नयाँ रिपोर्ट दुवै दाँजेर हेर्न थाले। हामी त्यतिञ्जेल मास्क लगाएर बाहिर पर्खिरह्यौं।

उनको आँखा अहिले पनि बन्दै छ। आँखाको ढकनी बाहिरबाट गुलगुल हल्लिँदै छ। मैले झ्यालबाहिर हेरेँ। सडकमा फाट्टफुट्ट मान्छे हिँड्दै थिए। पर एक जना मान्छे सडकछेउको क्याफेभित्र छिर्‍यो। उसले क्याफेको ढोका खोल्दा मैले हाततिर हेरेकी थिएँ। उसको हातमा पञ्जा थिएन। उनीहरूका निम्ति यो सामान्य दिन हो, सायद। मेरो निम्ति भने यो जिन्दगीकै सबभन्दा असामान्य दिन।

भित्रबाट हामीलाई बोलावट आयो।

मास्क लगाएकी नर्सले उनको सबै शारीरिक अवस्था परीक्षण गरिन्। उनलाई सामान्य ज्वरो थियो, ९९ डिग्रीभन्दा अलिकति बढी। तर, त्यो भर्खरै खाएको औषधिले घटेको हुनुपर्छ। उनको रक्तचाप सामान्य थियो। नाडी पनि सामान्य थियो। जीउमा अक्सिजनको मात्रा सामान्य थियो।

हामीले उनलाई ज्वरो, पसिना, छटपटी, खोकी र खोक्दा रगत देखिएको सबै विस्तार लगायौं। आजै बिहान घरमा नाप्दा अक्सिजनको मात्रा सामान्यभन्दा कम भएको पनि सुनायौं।

उनलाई परीक्षण कुर्सीमा बसालियो। उनले शिर पछाडि ढल्काए। आँखा चिम्ले। बाहिर म क्लिनिकका अरू बिरामीको कल्याङमल्याङ सुन्दै थिएँ।

एकैछिनमा मास्क लगाएकी डाक्टर आइन्। उनको हातमा प्लास्टिकको एक्सरे थियो। त्यो एक्सरे एक साताअघिको भन्दा फरक देखिन्थ्यो। डाक्टरले केहीबेर रेडियोलोजिस्टसँग कुराकानी गरेपछि हामीलाई भनिन्, ‘देब्रे फोक्सोमा निमोनिया देखिएको छ।’

अघिल्लो रात डाक्टरले एन्टिबायोटिक दिएको ठीक भएछ। अहिले स्टेथेस्कोप लगाउँदा उनको छातीमा घ्यारघ्यार सुनिएको छैन। उनलाई सास फेर्न गाह्रो पनि भइरहेको छैन। उनलाई अझै पनि घरमै राखेर उपचार गर्न सकिने डाक्टरले बताइन्।

‘तर, अब हामी तपाईंलाई अझ नजिकबाट हेर्ने छौं,’ उनले भनिन्।

फर्किने बेला क्लिनिकको ढोकामा उभिएर दुई जना वृद्ध महिला कुराकानी गरिरहेका थिए। म एकछिन अलमल्ल परेँ। के म उनीहरूलाई पर जाऊ भनुँ? कि घरै गएर बस भनुँ? कि हात धोएर आऊ भनुँ?

तर, म कसरी भन्न सक्छु?

हामी एकछिन ढोकामै उभिइरह्यौं। उनीहरूले त्यहाँबाट हटेर बाटो नछाडेसम्म बाहिर निस्केनौं।

फिरफिर हावामा उनलाई अलि चिसो भयो। उनको कपाल कोरिएको थिएन। हावामा ती फुरफुर हल्लिरहेका थिए। उनको अनुहारमा सेतो दारी झुस्स बढेछ।

केही व्यक्ति सडक किनार गफिएर हिँड्दै थिए। सायद उनीहरूलाई थाहा छैन, हामी भविष्यबाट वर्तमान घुम्न आएका आगन्तुक हौं।

(जेसिका लस्टिगको यो लेख हामीले न्यूयोर्क टाइम्सबाट भावानुवाद गरेका हौं। जेसिका न्यूयोर्क टाइम्स म्यागेजिनकी सहायक सम्पादक हुन्।)

प्रतिक्रिया दिनुहोस्