Logo

कोरोना भाइरस संक्रमित एक परिवारलाई डाक्टरले फूल दिएर बिदा गरे, छिमेकीले घण्टी बजाएर स्वागत गरे

भारतको महाराष्ट्रमा कोरोना भाइरस संक्रमित एक परिवार पूर्ण रूपमा निको भएको छ । परिवारका चार सदस्यमध्ये तीन जनामा कोरोनाको संक्रमण भएको थियो । अस्पतालबाट उनीहरू बुधबार साँझ ४ बजे घर फर्किएका छन् ।

हामी यहाँ उनीहरूको नाम उल्लेख गर्दैनौँ किनकि उनीहरूले नाम सार्वजनिक गर्न अनुमति दिएका छैनन् । यो परिवार ५ मार्चमा दुबईदेखि मुम्बई आइपुगेका थिए र ९ मार्चमा अर्थात् ठीक होलीको दिन उनीहरूमा कोरोना भाइरसको संक्रमण भएको थाहा भएको थियो ।

तत्कालै पूरै परिवारलाई क्वारेन्टाइनमा राखेर पूनेस्थित डा. नायडू अस्पताल भर्ना गरियो । त्यहाँ १७ दिन बिताएपछि उनीहरूलाई बुधबार घर फर्काइएको हो ।

१७ दिनमा परिवारका सदस्यहरूमाथि के के बित्यो, उनीहरूले भनेका कुरा जस्ताको त्यस्तै :


४० जनाको समूह थियौँ
पहिलो पटक हामी विदेश गएका थियौं । हामी समूहमा थियौं जहाँ ४० जना थिए । दुबई जानुअघि हामीले कोरोना भाइरसका विषयमा खासै सुनेका थिएनौँ । देशमा यसको प्रभाव परिसकेको थिएन ।

मेरो परिवारको यो पहिलो विदेश यात्रा थियो । हामी ४० सदस्यीय समूहको हिस्सा थियौँ । ६ मार्चमा हामी पती–पत्नी र बच्चासमेत पूने फर्कियौँ । हामीलाई हल्का ज्वरो र खोकी थियो । त्यसैले परिवारका डाक्टरसँगको सल्लाहअनुसार डा. नायडू हस्पिटल गएर आफ्नो स्याबको नमूना दियौँ ।

करिब ८ घण्टासम्म हस्पिटलकै एक कोठामा बन्द बस्यौँ । अबेर रात रिपोर्ट आयो र थाहा भयो, हामी चारमध्ये ३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

परिवारबाट अलग
यो रिपोर्टले मेरो परिवारको मात्रै होइन, धेरैको कान ठाडो पारिदियो । मपछि मेरी इन्जिनियर छोरीलाई पनि कोरोना पुष्टि भयो । यद्यपि, छोराको रिपोर्ट नेगेटिभ आयो । यसका बाबजुत उनलाई १७ दिनसम्म हस्पिटलमै राखियो ।

१९ मार्चमा यो जानकारी देशभर फैलियो । त्यसपछिका तीन÷चार दिन कुनै खराब सपनाभन्दा कम थिएन । पहिलो दुई दिन त केही आफन्तले बाहिरसम्म खाना ल्याएर दिए तर राज्य सरकारको पहलपछि हस्पिटलमै खाना मिल्न थाल्यो । खानामा कुनै खालका विशेष बन्देज थिएन तर डाक्टरले फ्राइड–रोस्टेड खाना नखानु भनेका थिए ।

सुरुमा लाग्यो, हाम्रो कारण महाराष्ट्रमा कोरोना फैलियो
कोरोनाको पुष्टि भएपछि हामीलाई पटक–पटक यही कुराले पिरल्यो कि हाम्रो कारणले अन्य ४० मानिसलाई पनि कोरोना संक्रमण भयो । यद्यपि, दुई दिनपछि मात्रै प्रस्ट भइयो, समूहका अधिकांश मानिसको रिपोर्ट नेगेटिभ आएको छ ।

सुरूमा त पूरै महाराष्ट्रमा कोरोना भाइरस फैलियो भने त्यसको जिम्मेवार हामी नै हौं भन्ने लागेको थियो । केही नजिकका साथीबाहेक अधिकांश साथीको व्यवहारमा परिवर्तन देख्यौँ ।

केही दिनसम्म एकअर्काबाट अलग भइयो
हस्पिटलका डाक्टर र नर्सको व्यवहार पूरै १७ दिनसम्म निकै राम्रो थियो । सुरुआती चार दिनमा म, मेरी पत्नी र छोरीलाई अलग–अलग कोठामा राखियो । त्यसपछि हामी कोरोनाका बिरामीका लागि बनाइएको विशेष वार्डमा सारियो । यो वार्डमा मभन्दा दुई बेड छाडेर मेरै पत्नी र त्यसबाट दुई बेड छाडेर मेरी छोरीलाई राखिएको थियो ।

दिनमा तीन पटक डाक्टर र नर्स जाँचका लागि आउँथे । यही क्रममा दबाई पनि दिइन्थ्यो । १४ दिन भएपछि अर्थात २३ मार्चमा फेरि कोरोनाको जाँच गरियो, यसमा हाम्रो रिपोर्ट पहिलो पटक नेगेटिभ आयो । यसपछि २५ मार्चमा फेरि पूरै परिवारको चेकअप भयो र सबैको रिपोर्ट नेगेटिभ आयो । यसपछि हाम्रो ज्यानमा ज्यान आयो ।

अखबार पढ्न दिइएन, टाइम पासका लागि कपिल शर्माको सो
हस्पिटलमा रहँदा हामी विशेष क्वारेन्टाइनमा थियौँ । तर, हस्पिटलका डाक्टर र नर्सले हामीलाई आफ्नै परिवारका सदस्यजस्तै गरी सेवा गरे । यद्यपि, हामीलाई बाहिरको कुनै पनि जानकारी दिइएको थिएन । हामीलाई त बस यही कुरा मात्र थाहा हुन्थ्यो कि हस्पिटलमा फेरि कोरोना संक्रमित कोही भर्ना भए ।

हस्पिटलमा अखबार पनि आउँदैन थियो । तर, हामीले टिभी राखिदिन आग्रह गरेका थियौं । हस्पिटलवाला भनेका थिए कि कोरोनाको समाचार सुन्दा नेगेटिभिटी आउँछ । यद्यपि, टाइम पास गर्नका लागि हामी मोबाइल र आइप्याडमा कपिल शर्मा सो, नेट फ्लिक्सका सो र युट्युब हेर्थ्यौँ । पूरा परिवार भिडियो च्याटका माध्यमबाट एक–अर्कासँग कुरा गर्थ्यौँ ।

सोसाइटीमा मानिसहरूले ताली बजाएर स्वागत गरे
रिपोर्ट पूर्ण रूपमा नेगेटिभ आएपछि म र मेरी पत्नी बुधबार साँझ तथा मेरी छोरी बुधबार राति हस्पिटलबाट डिस्चार्ज भयौँ । डाक्टरहरूले हामीलाई फूल दिएर बिदा गरे । हामी एम्बुलेन्सबाटै आफ्नो सोसाइटीसम्म पुग्यौँ । क्याम्पसमा पाइला राख्नेबित्तिकै मानिसहरूले छतमा आएर ताली, थाली र घण्टी बजाएर हाम्रो स्वागत गरे ।

यो सबै देखेर मेरो आँखामा आँसु आएको थियो जुन खुसीको आँसु थियो । यस्तो लागिरहेको थियो कि हामी खराब दिनबाट राम्रो दिनमा फर्किएका छौँ ।

कोही जानाजान कोरोना संक्रमित हुँदैन तर सावधानी अपनाउनुपर्छ
डाक्टरहरूले अझै हामीलाई १४ दिनसम्म परिवारसँग होम क्वारेन्टाइनमै बस्न भनेका छन् । सबैलाई हामीले आफ्नो घरमा आउन रोकेका छौँ । हाम्रो खराब दिन अहिले सकिएको छ । हामीलाई समाजले पहिले जस्तै गरी स्वीकार गर्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु । मान्छेले बुझ्नुपर्छ कि कोरोना भाइरस कसैले जानीजानी आफ्नो शरीरमा ल्याउँदैन । हामीलाई थाहै थिएन कि कोरोनाले कसरी हामीलाई गाँज्यो । तर, म भन्न चाहन्छु, यसबाट संक्रमित भएका ९९ प्रतिशत बिरामीले नियमको पूर्ण पालना गरे भने मुक्ति पाउन सक्छन् । (दैनिक भास्करबाट नवराज कुँवरले गरेको शब्दानुवाद)

प्रतिक्रिया दिनुहोस्