भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या नौ सय नाघेको छ । शनिबार मात्र भारतमा १५ नयाँ संक्रमित फेला परेका छन् । यसअघि शुक्रबार १६० नयाँ संक्रमित देखिएका थिए । शुक्रबार भारतमा एकैदिनमा अहिलेसम्म सबैभन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण देखिएको हो ।
भारतको सबैभन्दा प्रभावित राज्य केरलामा १७६ संक्रमित फेला परेका छन् भने महाराष्ट्रमा संक्रमितको संख्या १६२ पुगेको छ । अहिलेसम्म भारतको २७ राज्यमा कोभिड–१९ को प्रकोप फैलिइसकेको छ । नेपालसँगको सीमानाका जोडिएका राज्यहरुमध्ये बिहारमा अहिलेसम्म नौ जनामा भाइरसको संक्रमण देखिएको छ भने उत्तर प्रदेशमा ४९ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै, उत्तराखण्डमा ५ तथा पश्चिम बंगालमा १५ जनामा यो भाइरसको संक्रमण पाइएको छ । यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो राज्यमा यो भाइरस तेस्रो चरणमा प्रवेश गर्ने अवस्थामा रहेकोले तयारी अवस्थामा रहन सबैलाई आग्रह गरेका छन् ।यो अवस्थामा कुनै विदेश गएर आएका मानिससँगको सम्पर्क बिना नै यो भाइरस पूरै समुदायमा फैलिन सुरु गर्छ ।
प्रतिक्रिया