प्रदेश १ मा ४३८ आइसोलेसन र ४४ आईसीयू तयार !


प्रदेश १ सरकारले कोरोना संक्रमित र शंकास्पद विरामीको उपचारका लागि ४ सय ३८ आइसोलेसन, ४ हजार ३७ क्वारेन्टाइन र ४४ बेड आईसीयू तयार पारेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको कोरोना सूचना डेस्कका अनुसार सोमबारसम्म क्वारेन्टाइनमा ४४ महिला र ५ सय ६६ पुरुषसहित जम्मा ६ सय १० जनालाई राखिएको छ । होम क्वारेन्टाइनमा ५ सय ३८ महिला र दुई हजार ३ सय ९ पुरुष गरी जम्मा २ हजार ८ सय ४७ जना छन् ।

प्रदेश १ मा कोरोना संक्रमणको आशंकामा आइसोलेसन भर्ना भएकामध्ये पाँच महिला र छ पुरुष गरी ११ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा ८५ जनाको ‘थ्रोट स्वाब’ संकलन गरिएको छ । तीमध्ये ६९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँकीको रिपोर्ट आउन बाँकी छ । स्वाब परीक्षण गरिएकामा १८ महिला र ५१ पुरुषको रिपोर्ट आएको हो । परीक्षणका लागि १९ महिला र ६६ पुरुषको स्वाब नमूना धरान पठाइएको छ । प्रदेश १ मा बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानबाट कोरोना संक्रमणको परीक्षण भइरहेको छ ।

कोषमा ११ करोड ६५ लाख जुट्यो

यसैबीच प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ रुपैयाँ जम्मा भएको छ । कोषमा सोमबार थप ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोष स्थापना गरेको थियो ।