मोबाइल फोन निकै अत्याधुनिक, सजिलो र छरितो सञ्चार उपकरण हो । हिजोआज मोबाइल मान्छेको दैनिकीको हिस्सा बनिसकेको छ । स्मार्ट फोनको दायरा सञ्चार कर्ममा मात्रै सिमित छैन । घडी, रेडियो, टिभी, पत्रिका, पाठ्यपुस्तक सबैचीजको विकल्प मोबाइल भएको छ । पछिल्लो समय हरेक व्यक्तिको मोबाइलमा निर्भरता बढ्दै गएको छ । मोबाइलबाट टाढा हुनै नसक्ने अवस्थालाई नोमोफोबिया भनिन्छ ।
मोबाइल एडिक्सनको तथ्याङ्क हेरौं, सन् २०२१ सम्ममा विश्वको आधा जनसंख्याले मोबाइल फोन प्रयोग गर्ने प्रक्षेपण गरिएको छ । एक व्यक्तिले दैनिक औसतमा १७१ मिनेट मोबाइल प्रयोग गर्दछ । कुल स्मार्टफोन प्रयोगकर्ताको ६६ प्रतिशतभन्दा बढीमा नोमोफोबियाको संकेत पाइएको छ । कुल प्रयोगकर्ता संख्याको ८७ प्रतिशतले हरेक घण्टा मोबाइल चेक गर्दछन् ।
मोबाइल फोनको फाइदाको बारेमा हामी सबै जानकार छौं । तरपनि मोबाइल सय प्रतिशत फाइदाजनक उपकरण भने होइन । मोबाइल फोनले मानव स्वास्थ्य र आनीबानीमा खतरनाक असर पारिरहेको हुन्छ । अत्यधिक मोबाइल प्रयोगका बेफाइदा यी हुन्
मानसिक स्वास्थ्यमा असर
मोबाइल कम्युनिकेसनका लागि रेडियो फ्रिक्वेन्सी प्रयोग हुने गर्दछ । वैज्ञानिकहरुका अनुसार रेडियो फ्रिक्वेन्सीको कारणले मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्दछ । रेडियो फ्रिक्वेन्सी मानसिक गतिविधिमा प्रत्यक्ष असर गर्दै दिमागले प्रतिक्रिया जनाउने समयमा प्रभाव पार्ने, निद्रा र आराममा असर पार्ने आदिका लागि जिम्मेवार मानिन्छ ।
यही फ्रिक्वेन्सीको व्यक्तिलाई ब्रेन क्यान्सरको अवस्थासम्म पुर्याउने खतरा हुन्छ । वयस्क व्यक्तिको तुलनामा बच्चाहरुमा फोनको रेडिएसनको कारणले क्यान्सर हुने खतरा बढी हुन्छ ।
तनावमा वृद्धि
मोबाइल फोनले व्यक्तिलाई बिस्तारै आफुमा निर्भर बनाउँदै लैजान्छ । दैनिक व्यवहार फोनमै आधारित हुने कारणले व्यक्ति धेरै बेरसम्म मोबाइलबाट पर रहन सक्दैन । पछिल्लो समय भएका अध्ययनहरुले फोनको ब्याट्री कमजोर हुने अथवा कल, मेसेज तुरुन्तै रिप्लाई गर्न नपाउँदा व्यक्तिमा तनाव बढ्छ । जस्तोसुकै परिस्थितिमा पनि फोनले ध्यान केन्द्रित गर्ने र त्यसको प्रयोग गर्न नमिल्ने अवस्थाले मानिसको तनाव बढाउन मदत गर्दछ ।
प्रतिरक्षा प्रणालीमा असर
मोबाइल फोनमा ट्वाईलेटमा हुनेभन्दा बढी फोहोर र ब्याक्टेरिया पाइने तथ्य विभिन्न रिसर्चले पत्ता लगाएका छन् । त्यस्ता ब्याक्टेरियाको कारणले मानव स्वास्थ्य र प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) लाई कमजोर बन्दै जान्छ ।
निरन्तर र एउटै पोजिसनमा फोनको प्रयोग गरिरहने, औंलाहरु बढी सक्रिय हुने कारणले शरीरमा पीडाको मात्रा बढाउँछ । फोनको अत्यधिक प्रयोगले घाँटी, कम्मर दुख्ने समस्या नित्याउँछ ।
दृष्टिमा समस्या
एक अनुसन्धानको तथ्याङ्क अनुसार ९० प्रतिशत मानिसहरुले ब्युँझेको ५ मिनेटभित्र मोबाइल फोन चेक गर्ने गर्दछन् । दिनको उज्यालोमा समेत आँखालाई गाह्रो हुने किसिमको उज्यालो स्क्रिनमा ब्युँझिने बित्तिकै हेर्दा यसले आँखालाई असर गर्दछ । हरबखत फोनको स्क्रिनमा हेर्दा लाइटको कारणले दृष्टि कम हुने र भविष्यमा दृष्टिसमेत गुम्न सक्छ ।
निद्रामा असर र सोच्ने शक्ति ह्रास
निरन्तर रुपमा मोबाइल फोन प्रयोग गर्दा व्यक्तिको निद्रा बिथोलिने, राम्रोसँग निदाउन नसक्ने जस्ता समस्या हुन थाल्छ । कतिपय व्यक्तिहरु दैनिक काम सकेपछि पनि बेडमा सुतेर मोबाइल चलाउने गर्दछन् । यसले आराम गर्ने समय घटाउने मात्रै नभएर निद्रा ढिलो लाग्ने समस्या सुरु हुन्छ । निरन्तर रुपमा निद्रा बिथोलिँदा त्यसले स्वास्थ्यमा गम्भीर समस्या निम्याउन सक्छ ।
तपाईँलाई कतिजना व्यक्तिको फोन नम्बर याद छ ? कतिपय व्यक्तिले आफ्नै परिवारका सदस्यको फोन नम्बर समेत याद गर्न सक्दैनन् । यस्तो हुनुमा मोबाइल जिम्मेवार छ । फोनले सबैथोक सजिलो बनाइदिएका कारण व्यक्तिको सोच्ने क्षमतामा ह्रास हुँदै गएको छ ।
हरेक कामको लागि फोनमा निर्भर बढ्दै जाँदा व्यक्तिको सिर्जनात्मक क्षमता निकै कमजोर हुन्छ ।
दुर्घटनाको कारण
फोन प्रयोगको कारणले संसारभरि नै सवारी दुर्घटना र अन्य दुर्घटना बढाएको छ । फोनतिर ध्यान दिँदा आफुले गरिरहेको काम, हिँडिरहेको बाटो बिर्सिने र दुर्घटना हुने गर्दछ ।
अमेरिकन नेसनल सेफ्टी काउन्सिलको रिपोर्टअनुसार अमेरिकामा हुने प्रत्येक ४ वटा दुर्घटनामध्ये एउटा फोनको कारण हुने गर्दछ । हरेक वर्ष १६ लाख वटा सवारी दुर्घटनाका लागि फोनको प्रयोग जिम्मेवार छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रभावले समाजमा दुर्घटना बढेको पाइन्छ । विभिन्न पोजमा फोटो खिच्ने, कुनै काम गरिरहँदा सामाजिक सञ्जाल चलाउनेजस्ता बानीले दुर्घटनाको जोखिम बढाउँछन् ।
साइबर क्राइमको जोखिम
स्मार्टफोनको कारणले व्यक्तिसँग धेरै सुचनाको पहुँच छ । त्यतिमात्रै नभएर व्यक्तिका सम्पूर्ण तथ्याङ्कहरु स्मार्टफोनमा स्टोर हुने गर्दछन् । बैंक एकाउन्टदेखि, इमेलको पासवर्ड र महत्वपूर्ण दस्तावेजसम्म डिभाइसमा सेभ गरिएको हुन्छ । यसले तपाईँको सूचना चोरी हुने जोखिम बढाउँछ । साथै, ससाना अनावश्यक सूचनाहरु सामाजिक सञ्जालमा छर्ने बानीले तपाईँलाई नै अपराधी बनाउन पनि सक्छ ।
डिप्रेसन, श्रवणशक्ति ह्रास र एलर्जी
मोबाइल फोन डिप्रेसन बढाउने एक मुख्य कारक तत्व बनेको छ । मोबाइलको अधिक प्रयोग एन्जाइटी, तनाव बढ्नेजस्ता समस्याको स्रोत पनि हो । सामाजिक सञ्जालको प्रभाव बढ्दै जाँदा लाईक र रियाक्सन गन्दै चिन्तित हुने मानिसहरुको संख्या प्रतिदिन बढ्दैछ ।
मोबाइलमा धेरै बेर कुराकानी गर्दा श्रवणशक्तिमा ह्रास आउन सक्छ । ठूलो आवाजमा गीत सुन्ने, इयरफोन प्रयोग गर्ने, चार्जमा राखेर कुरा गर्ने, धेरैबेरसम्म कानमा फोन टाँसिरहने बानीले श्रवणशक्ति क्रमशः कमजोर हुँदै जान्छ ।
त्यतिमात्रै नभएर मोबाइलको कारण स्किन एलर्जी हुनसक्ने सम्भावना अधिक हुन्छ । हामीले मोबाइल फोन रुचाउने पहिलो कारण त्यसको लुक्स हो । फोनको बाहिरी भागलाई बलियो र आकर्षक बनाउन विभिन्न धातुको प्रयोग गरिएको हुन्छ । मोबाइलको मेटालिक लेयरमा निकेल, क्रोमियम र कोबाल्टको प्रयोग गरिन्छ । यी धातुको कारणले मोबाइल प्रयोग गर्ने व्यक्तिलाई छालाको एलर्जीको जोखिम उच्च हुन्छ ।
प्रतिक्रिया