अस्ट्रेलियामा विद्यार्थी भिसामा रहेका विद्यार्थीलाई राहतस्वरुप त्यहाँको अध्यागमन तथा नागरिकता मन्त्रालयले आफ्नो सुपर एनएसन रकम झिक्न पाउने व्यवस्था गरेको छ ।निमित्त मन्त्री एलज टजले एक विज्ञप्ति जारी गर्दै अस्थायी भिसामा रहेका कसैले अहिलेको अवस्थामा अत्यन्तै गाह्रो भएको र आगामी ६ महिनासम्म आफूलाई सहयोग गर्न नसक्ने अवस्था भए आफ्नै देश फर्कनसक्ने समेत सुझाव दिए ।अस्ट्रेलियामा हाल २२ लाख अस्थायी भिसामा रहेको मन्त्री टजको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अहिलेको कठिन अवस्थामा सहयोग पुर्याउने उद्देश्यले सरकारले यो निर्णय लिएको उनको भनाइ छ । अस्ट्रेलियामा सुपरएनएसन आफू सेवानिवृत्त भएपछि मात्र झिक्न पाइने रकम हो ।यो कोषमा आफूले कानुनी रुपमा काम गरेको कम्पनीले न्यूनतम ९.५० प्रतिशत रकम थप गरेर जम्मा गरिएको हुन्छ ।
मन्त्री टजका अनुसार अहिलेको अप्ठेरो परिस्थितिमा एक वर्षदेखि अस्ट्रेलियामा अस्थायी भिसामा रहेका र जागिर गुमाएका अथवा जागिरको समयावधि घटेका विदेशी विद्यार्थीले यो रकम झिक्न पाउनेछन् ।अस्ट्रेलियामा अहिले ५ लाख ६५ हजार विदेशी विद्यार्थीहरु अध्ययनरत रहेको उल्लेख गरिएको छ । जसमा २ लाख ४० हजारले अस्ट्रेलियाको रोजगार क्षेत्रमा सहयोग पुर्याइरहेका छन् ।
विद्यार्थीलाई आफ्नो परिवार तथा पार्ट–टाइम काममा भरपर्न आग्रह गर्दै मन्त्री टजले नर्सिङ, सुपरमार्केटलगायतका क्षेत्रमा काम गर्नेहरुको काम गर्ने समय बढाइएको समेत उल्लेख गरेका छन् ।यसअघि नै सरकारले स्वास्थ्यक्षेत्र तथा ठूला सुपरमार्केटमा काम गर्ने विद्यार्थीले दुई सातामा अधिकतम ४० घण्टा मात्र काम गर्न पाउने अधिकार बढाएको थियो । तर यो नियम १ मेदेखि पुनः ४० घन्टामा सीमित पारिनेछ ।
प्रतिक्रिया