अस्पतालको लापरबाही : उच्च ज्वरोका बिरामीलाई उपचार गर्न मानेन !


जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ का निलकमल ठाकुरले श्रीमती लक्ष्मी ठाकुरलाई ज्वरो आएपछि उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुगे । लक्ष्मीलाई मंगलबार राति अचानक उच्च ज्वरो आएपछि निलकमलले श्रीमतीलाई लिएर बुधबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा जचाउन पुगेका हुन्। तर जुन आशा लिएर उनी अस्पताल पुगेका थिए, त्यो आशा क्षणभरमै ओइलायो।

निलकमलले न लक्ष्मीको उपचार गराउन पाए उल्टै चिकित्सकको समेत नराम्रो व्यवहारमा परे। निलकमलले,‘मंगलबार राति श्रीमतीलाई अचानक १ सय ३ डिग्रीको उच्च ज्वरो आएपछि उनलाई लिएर बुधबार बिहानै अस्पतालमा रहेको इमरजेन्सी शाखाको गेटमा मात्रै के पुगे,गेटबाटै एकजना कर्मचारीले यहाँ ज्वरोको उपचार सुपचार हुँदैन,अर्को अस्पताल जानुस् भन्दै गेटबाटै फर्काइदिए।’

अस्पतालले त्यहाँबाट निकालेपछि उनले श्रीमतीलाई लिएर अन्तै अस्पताल गएका थिए तर त्यहाँबाट पनि फर्काइयो। उनले भने, ‘त्यसपछि श्रीमतीलाई लिएर डाक्टर विजय कुमार सिंहको हस्पिटलमा गयौं तर चिकित्सकहरू उपलब्ध नभएको भन्दै त्यहाँबाट समेत फर्काइयो।’ डाक्टर विजय कुमार सिंह प्रदेश-२ मा कोरोनाको संक्रमण फैलिन नदिनका लागि प्रदेश सरकारले नीति निर्माणका लागि गठन गरेको विज्ञ समूहका सदस्य समेत हुन्। उच्च ज्वरोबाट ग्रस्त लक्ष्मीलाई अस्पतालहरूले उपचार गर्न नमानेपछि निलकमलले प्रादेशिक औषधि पसलबाट औषधि खरिद गरी उनलाई घरमै राखी औषधि खुवाइरहेका छन्।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र यादवले भने अस्पतालमा ‘फिभर वार्ड’ नै बनाएर उच्च ज्वरोका बिरामीहरूको छुट्टै उपचार भइरहेको दाबी गरेका छन्। उनले भने, ‘प्रादेशिक अस्पतालमा फिभरका बिरामीहरूका लागि फिभर वार्ड नै निर्माण गरी छुट्टै उपचार हुँदै आएको छ, ज्वरोका बिरामी आएपछि भर्ना नलिने कुरै आउँदैन।’