पछिल्लो समय डाक्टरहरुले अन्य रोगको उपचारको लागि प्रयोग गरिने केही औषधिहरुलाई पनि कोरोनाभाइरसको उपचारमा प्रयोग गर्न थालेका छन् । तर, इरानमा भने कोरोनाभाइरसको औषधि भन्दै यस्तो रसायनको बारेमा प्रचार गरियो जसका कारण ६ सय जनाभन्दा धेरैले ज्यान गुमाउनुपरेको छ ।इरानमा अहिलेसम्म कोरोनाभाइरसको कारण ३ हजार ८ सय जनाको ज्यान गएको छ । तर, यही देशमा विषालु अल्कोहल पिउँदा ६ सय जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । यो अल्कोहलका कारण ३ हजार जनाभन्दा धेरै अस्पताल पुगेका छन् ।
डेलिमेलले उल्लेख गरे अनुसार मंगलबार इरान सरकारका एक प्रवक्ता घोलम हुसैनी इस्माइलीले यहाँका नागरिकहरुले कोरोनाभाइरसको औषधि सम्झेर ‘नीट’ अल्कोहल पिएको बताएका छन् ।यो अल्कोहलका कारण यहाँ ठूलो संख्यामा मानिहरु बिरामी भए । इस्माइलीका अनुसार विषालु अल्कोहल पिएका कारण ज्यान गुमाउनेहरुको संख्या निकै धेरै छ ।
यो संख्या आफ्नो आशंकाभन्दा पनि धेरै भएको उनले बताए ।उनले भने ‘अल्कोहल पिएर रोग ठिक हुँदैन बरु यो उल्टै प्राणघातक हुन सक्छ ।’ तस्निम न्यूजसँग कुरा गर्दै उनले यो मामिलामा कैयौं व्यक्तिहरुलाई गिरफ्तार गरिएको पनि बताएका छन् । उनीहरुविरुद्ध आपराधिक गतिविधिको लागि मुद्दा चलाइने उनले बताए ।कोरोनाभाइरसका कारण इरानमा ६२ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् ।
तर, इरानको तर्फबाट कोरोनाभाइरसका विषयमा जारी गरिएका तथ्यांकमाथि प्रश्न उठिरहेका छन् ।सरकारले मृतकको संख्या कम गरेर देखाएको आरोप लागेको छ । इरानको संसदका कम्तिमा ३१ सदस्य पनि संक्रमित भेटिइसकेका छन् ।कोरोनाभाइरसको प्रकोपका कारण संसद बन्द गरिएको थियो जुन मंगलबारदेखि पुनः सुचारु गरिएको छ । विश्वभर कोरोनाभाइरसबाट संक्रमितको संख्या १४ लाख ३२ हजार नाघिसकेको छ । विश्वभर मृत्यु हुनेको संख्या ८२ हजारभन्दा धेरै भइसकेको छ ।
प्रतिक्रिया