फोन आउनासाथ ५० किलोमिटर टाढासम्म औषधि पुर्याइदिन स्वास्थ्यकर्मी
आज पनि सबेरै मोबाइल बज्यो। आँखा मिच्दै फोन उठाए- बिरामीको रहेछ।लक डाउनपछि के दिन के रात, गोरखाका स्वास्थ्यकर्मी संगमबाबु श्रेष्ठलाई फोन आइरहन्छ।श्रेष्ठ हेल्थ असिस्टेन्ट (एचए) हुन्। गोरखा बजारमा उनको औषधि पसल छ। लकडाउन भएको भोलिपल्ट चैत १२ देखि श्रेष्ठले बिरामीका घरघरमा औषधि पुर्याउँदै आएका छन्, कोही बिरामी परे परीक्षण गर्छन्।
श्रेष्ठलाई शनिबार बिहान तीन ठाउँका बिरामीले फोन गरेर औषधि ल्याइदिनू भनेका छन्। औषधि बोकेर श्रेष्ठ २४ किलोमिटर टाढा तनहुँ आँबुखैरेनी जाँदैछन्।आँबुखैरेनी, दशकिलो र छेपेटारबाट बिरामीको फोन आएको छ, औषधि पुर्याउन गइरहेको छु,’ श्रेष्ठले सेतोपाटीसँग भने। उनकाअनुसार अधिकांश दीर्घ रोगी वृद्धवृद्धाले नियमित सेवन गर्ने औषधि फोन गरेर मगाउँछन्।
‘मेरो मोबाइल नम्बर र फेसबुक म्यासेन्जरमा फोन र एसएमएसबाट औषधिको मगाउँछन्,’ श्रेष्ठले भने, ‘धेरैजसो दम, थाइराइड, प्रेसरलगायतका बिरामीले औषधि मगाएका छन्।’औषधि लिएर श्रेष्ठ गोरखाबजारबाट ५० किलोमिटर टाढा मान्वुसम्म पुगेका छन्। ‘मान्वुका बिरामीलाई पनि औषधि पुर्याइदिएँ। मुग्लिन, कुरिनटारमा पनि औषधि पुर्याइदिएको छु। बिरामीहरू खुसी हुनुभएको छ,’ श्रेष्ठले भने।
यति टाढाटाढा बिरामीकहाँ औषधि पुर्याए पनि औषधिमा लेखिएको मूल्यभन्दा बढी पैसा आफूले नलिएको श्रेष्ठले बताए।‘लक डाउनको बेला छ। आपतमा परेका बिरामीबाट धेरै पैसा लिने कुरा नै आउँदैन। औषधिमा लेखेको एमआरपीअनुसार नै बिल काट्ने गरेको छु,’ श्रेष्ठले भने।
गोरखामा नपाइने औषधि श्रेष्ठले पोखराबाट पनि ल्याएका छन्।‘मसँग भएकै औषधिको माग बिरामीबाट आएको छ। कुनै कुनै औषधि सकिएको पनि पर्छन्। जिल्लाकै औषधि व्यवसायीहरूसँग भएसम्म माग्छु। पाइएन भने पोखराबाट ल्याउने गरेको छु,’ उनले भने।लक डाउनका बेला गाडी चलाउन श्रेष्ठले जिल्ला प्रशासन कार्यालयबाट पास लिएका छन्।
‘मनकामना जाने बाटो (आँबुखैरेनीपारि) की एक जना बिरामीलाई सुगरको इन्सुलिन सुई चाहिएछ। गोरखामा पाइएन, पोखराबाट ल्याएर दिएँ,’ उनले भने।घरनजिक औषधि पसल नभएका प्राय: गाम्रीण क्षेत्रका बिरामीलाई श्रेष्ठले घरघरै पुगेर औषधि उपलब्ध गराएका हुन्।‘औषधि पसल नभएका क्षेत्रका बिरामीलाई ध्यानमा राखेर सहयोग गरेको हुँ,’ उनले भने।
अहिलेसम्म करिब एक सय जना बिरामीलाई घरमै औषधि पुर्याएको उनले बताए। उनको श्रीमती सदीक्षा र भाइ प्रितम पनि स्वास्थ्यकर्मी हुन्।
‘मैले गरिरहेको कामलाई घरपरिवारबाट पनि साथ र सहयोग छ,’ उनले भने।उनले राति पनि आफू बिरामीकहाँ गएर सेवा दिएको बताए।
‘रक्तश्राप भएकी महिलाको उपचार गर्न म पालुङटार नगरपालिका आँपपिपल पनि पुगें,’ उनले भने, ‘बिरामीको परीक्षण र औषधि दिएर फर्केको हुँ।’३० वर्षीय श्रेष्ठ चार वर्षअघि गएको भूकम्पका घाइतेको सेवामा पनि खटिएका थिए।श्रेष्ठले औषधि घरमै ल्याइदिएपछि मानिसहरू उनीसँग तस्बिर खिच्न खोज्छन्। कसैले त धन्यवाद भन्दै फेसबुकमा पनि राख्छन्।
‘बुवाले खाने औषधि सकिएको थियो। नजिकै मेडिकल छैन, टाढा जाने पास छैन। कसरी ल्याउने चिन्ता लाग्या थियो,’ खोप्लाङका रमेश बिष्टले भने,‘फोन गरेपछि उहाँले घरमै ल्याइदिनुभयो अब ढुक्क भयो।’