११ देशले लगे ४ हजार बढी नागरिक, नेपाली नागरिक फर्कन खोज्दा भने सरकारले उडान अनुमति नै दिएन


कोरोना भाइरसको संक्रमण रोक्नका लागि नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेपछि चैत २९ गते अपरान्हसम्म ४ हजार बढी विदेशी नागरिकले नेपाल छाडेका छन् अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख सागर दाहालका अनुसार चैत १४ गतेदेखि चैत २९ गते अपरान्हसम्म ९ वटा देशले १७ वटा फ्लाइटमार्फत् ४ हजार ४६ जना नागरिकलाई आफ्नो देश फर्काएका हुन् ।विभिन्न ९ वटा देशका दूतावासको सक्रियतामा १७ वटा फ्लाइटमार्फत् ४ हजार ४६ जनाले नेपाल छाडेको अध्यागमन विभागले जनाएको छ । विभिन्न देशले आफ्ना नागरिक लैजानका लागि फ्लाइट चार्टर गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

अध्यागमन विभागका अनुसार चैत १४ गतेबाट सुरु भएको रेस्क्यु फ्लाइटमा हालसम्म १७ वटा उडान भएका छन् । जसमध्ये सबैभन्दा बढी जर्मन सरकारले आफ्ना नागरिकलाई नेपालबाट उद्धार गरी लगेको छ । जर्मन सरकारले नेपालमा फँसेका १ हजार २ सय ३ जना नागरिकलाई चार्टर विमानमार्फत् जर्मनी लगेको छ ।

जर्मन दूतावासले ४ पटक गरी आफ्ना नागरिकलाई उद्धार गरेको अध्यागमन विभागले जनाएको छ । चैत १४ गते ३ सय ७ जना, चैत १५ गते ३ सय ३ जना, चैत २२ गते ३ सय ७ जना र चैत २६ गते २ सय ८६ जना गरी कुल १ हजार २ सय ३ जना नागरिकलाई आफ्नो देशमा फिर्ता लगेको छ ।

त्यसैगरी नेपालबाट आफ्ना नागरिकको उद्धार गरी लैजाने राष्ट्रमा फ्रान्स दोस्रो नम्बरमा देखिएको छ । फ्रान्सले चैत १५ गते र चैत २२ गते दुईवटा फ्लाइट गरी ६ सय ८ जना आफ्नो नागरिकलाई नेपालबाट लगेको छ ।

त्यसैगरी अमेरिकाले पनि दुईवटा उडानमार्फत् नेपालबाट आफ्ना ६ सय ५ जना नागरिकको उद्धार गरेको छ । अमेरिकाले चैत १८ र चैत २३ गते दुईवटा उडान भरी आफ्ना नागरिकको उद्धार गरेको छ ।बेलायतले पनि दुईवटै उडान भरी नेपालबाट ५ सय जना नागरिकलाई फिर्ता लगेको छ । बेलायतले चैत २६ गतेको उडानमा २ सय ५२ जना र चैत २८ गतेको उडानमा २ सय ४८ जना गरी कुल ५ सय जनालाई नेपालबाट उद्धार गरेको हो ।

त्यसैगरी अष्ट्रेलियाले चैत १९ गतेको चार्टर फ्लाइटमार्फत् २ सय ५७ जना, नेदरल्याण्डले चैत २० को फ्लाइटमार्फत् १ सय २४ जना, मलेसियाले चैत २२ को फ्लाइटमार्फत् ६६ जना, चेक रिपब्लिकले चैत २२ को फ्लाइटमार्फत् १ सय २ जना जना नागरिकलाई आफ्नो देशमा लगेका छन् ।त्यस्तै चैत २८ गते भएको फ्लाइटमार्फत् कोरियाले १ सय ७५ जना, चैत २८ मै भएको फ्लाइटमार्फत् जापानले १ सय ९९ जना र चैत २९ गते भएको फ्लाइटमार्फत् क्यानडाले २ सय ७ जना नागरिकलाई आफ्नो देशमा फिर्ता लगेको छ ।

कुन–कुन देशले कुन कुन मितिमा कति नागरिक लगे, हेर्नुहोस् पूरा विवरण ।

विदेशी गए, नेपालीलाई आउन प्रतिबन्ध
लकडाउनका कारण नेपालमा फसेका आफ्ना नागरिक लैजानका लागि विभिन्न देशले दूतावासमार्फत् पहल गरी फिर्ता लगिरहेका छन् । कतिपय देशले आफ्ना अधिकांश नागरिकलाई लगिसकेका छन् भने कतिपय देश लैजाने क्रममा नै छन् ।

उद्धार गरिएकामध्ये अधिकांश देशका नागरिकले आफ्नै खर्चमा फिर्ता भएका छन् । दूतावासले समन्वय गरिदिने र चार्टर विमानको व्यवस्था मिलाइदिने काम मात्रै गरेको छ ।यद्यपि विदेशमा फसेका वा रहेका नेपाली नागरिकहरुको उद्धारका लागि भने नेपाल सरकारले कुन पहल गरेको छैन । चैत २५ गते मङ्गलबार सर्वोच्च अदालतले विदेशमा फसेका नेपाली नागरिकलाई नेपाल ल्याउने वातावरण बनाउन सरकारलाई निर्देशनात्मक आदेशसमेत जारी गरेको थियो ।

अहिले मलेसिया, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, ओमन, बहराइन, कोरिया, जापान लगायतका देशमा लाखौं मानिस फसिरहेका छन् । ती देशमा रहेका नागरिकले आफ्नै खर्चमा नेपाल आउने चाहेपनि नेपाल सरकारले विदेशबाट नेपालीलाई नेपाल फर्कनका लागि उडान अनुमति दिएको छैन । जसका कारण विदेशमा रहेका नेपालीहरु भने आफ्नै खर्चमा स्वदेश फर्कन चाहेपनि उनीहरु नेपाल फर्कन पाएका छैनन् ।