यति बेला देश पूर्ण लकडाउनमा छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले गरेको लकडाउनका कारण सवारी साधन चलाउन तथा हिँडडुल गर्न असहज छ ।तर यही बेला लागू औषध प्रयोगकर्ताहरु लागूऔषध सेवन तथा ओसारपसार गर्न नपाएपछि नयाँ नयाँ जुक्ति निकालिरहेका छन् ।
सरकारको अनुमतिविना सवारी साधन सञ्चालन गर्न नपाइने भएपछि बिरामी बोक्ने एम्बुलेन्सको सहारामा लागूऔैषध ओसारपसार तथा दूध बोक्ने अनुमति लिएका सवारी साधनमा मदिरा ओसारपसार भईरहेको छ ।मकवानपुरमा दूध बोक्नको लागि अनुमति लिएको टेम्पोले मदिराको कारोबार गरेको घटना सेलाउन नपाउँदै चितवनमा एम्बुलेन्स प्रयोग गरी लागूऔषध ओसारपसार गर्ने गरेको तथ्य फेला परेको छ ।
जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार नक्कली विरामी खडा गरेर लागूऔषध ओसारपसार भईरहको भेटिएको हो ।गत चैत २४ गते भरतपुर महानगरपालिका–२ जुनहल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा लागूऔषधसहित पक्राउ परेका तीन जनालाई शुक्रबार सार्वजनिक गरिएको हो ।
नवलपरासीबाट एम्बुलेन्स बुकिङ गरी आएका उनीहरुको साथबाट नाइट्राजेपाम १८७ ट्याबलेट, स्पास्मो प्रोक्सिभन ९४ क्याप्सुल, कोरेक्स एक लिटर र ट्रमाडोल ४० ट्याबलेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।
एम्बुलेन्समार्फत लागूऔषध ओसारपसारमा संलग्न विनोद रानामगर, प्रवीण घर्तीको बयानको आधारमा उक्त लागूऔषधको माग गर्ने अनुप तिमिल्सिनालाई समेत पक्राउ गरिएको छ ।विनोद रानामगर र प्रवीन घर्तीले चैत २४ गते नक्कली बिरामी बनेर एम्बुलेन्स चालकलाई फोन गरी बोलाएका थिए । बिरामी लिई बर्दघाट जाने र बर्दघाटबाटसमेत बिरामी ल्याउने भनी एम्बुलेन्सलाई भरतपुर आँखा अस्पताल अगाडि बोलाएको प्रहरीले जनाएको छ ।
विनोद रानामगर बिरामी भएको बहानामा बर्दघाट गएको, बर्दघाट पुगेपछि चालक एम्बुलेन्समा नै बसेको र अन्य दुई जना झरी गएकामा केही समयमा आई यहाँबाट बिरामी लैजान नपर्ने भयो, हामीहरु फर्कौं भनेपछि एम्बुलेन्स फर्कने क्रममा पक्राउ परेको हो ।
पक्राउ परेका तीनै जनाविरुद्ध लागूऔषध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ । nesw24
प्रतिक्रिया