दुर्लभ प्रकारको क्यान्सरबाट ग्रस्त चार वर्षका बालकले कोरोनाविरुद्धको लडाँइ जितेका छन् । क्यान्सरबाट उनलाई जोगाउन अहिले सहयोग संकलन भइरहेको छ । न्युरोब्लास्टोमा नामक दुर्लभ क्यान्सरको उपचारकै क्रममा अर्ची विल्क्स नामका यी बेलायती बालक कोभिड–१९ बाट संक्रमित भएका थिए । त्यसअघि आमा हेरियट र बाबु सिमोनले आफ्नो बच्चालाई कोरोनाको सम्भावित संक्रमणबाट जोगाउन सक्दो प्रयास गरेका थिए ।
महामारी फैलिएपछि यो परिवारले आर्चीका जुम्ल्याहा दाजु हेनरीलाई समेत स्कुलबाट निकालेको थियो । सतर्कताका लागि यो परिवार इसेक्स, सफ्रोन वाल्डेनस्थित घरमा दुई साताभन्दा लामो समय बसेको पनि थियो ।
‘हाम्रो घरमा नर्समात्रै आउथिंन् । तर सबै प्रयासका बाबजुद आर्चीमा संक्रमण स¥यो,’ बाबु सिमोनले भने । यी बालक अन्कोलोजी (क्यान्सरको औषधी) लिइरहेका एडिब्रोककै पहिलो कोरोना संक्रमित हुन्, संभवत बेलायतकै ।
एड्डिनब्रोकस्थित अस्पतालमा किमोथेरापी र इम्युनोथेरापी उपचारगराइरहेका बेला उनमा ज्वरो देखिएको थियो । लक्षण देखिएपछि उनलाई तत्कालै कोरोनाभाइरस कक्षमा लगिएको थियो, जहाँ संक्रमण पत्ता लाग्यो ।
टोट्टेनह्याम हटर्सपर्स फुटबल क्लबका फ्यान आर्चीमा फ्लुजस्तै लक्षण देखिएको उनका बाबु सिमोनले बताए ।
‘कोरोना भाइरस कक्षमा लैजानुपर्दा हामी निकै आत्तिएका थियौं । यस्ता बालकले कसरी कोरोनासँग जुध्नसक्छन् भन्ने हामीलाई थाहा थिएन,’ सिमोनले भने । उनी आर्चीसँगै अस्पतालको कोठामा ६ दिन बसेका थिए । उनले उपचार सफल बनाइदिने चिकित्सकहरुलाई धन्यवाद् दिएका छन् ।
आर्ची सुरक्षित अवस्थामा रहेको जानकारी चिकित्सकहरुले दिएपछि १ अप्रिलमा यो परिवार एकजुट भएको थियो । त्यसयता, आइशोलेसनमा बसेका आर्ची थप केही दिन थकित थिए र उनलाई अक्सिजन आवश्यक थियो । तर आर्चीको फेसबुक पेजमार्फत उनको परिवारले बिहीबार समर्थकहरुलई भनेको छ, ‘आर्चीलाई अब खोकी देखिएको छैन र अक्सिजनको जरुरी पनि छैन । उनी भाइरसको ‘अर्को पक्ष’ बाट टाढा भइसकेका छन् ।’
यी बालकमा जनवरी २०१९ मा न्युरोब्लास्टोमा पहिचान भएको थियो । उपचाकार क्रममा उनको किड्नी र स्पाइन वरपर दुई ट्युमर रहेको पत्ता लागेको थियो र उनको हड्डी तथा बोनम्यारोसहित शरीरमा अन्य भागमा पनि रोग फैलिसकेको थियो ।
३१ वर्षका सिमोन र ३० वर्षकी उनकी श्रीमती हेरियटले अहिले जुम्ल्याहा छोराहरुको रेखदेख गरिरहेका छन् ।
अहिले यी बालकलाई क्यान्सरमुक्त बनाउन अन्य व्यक्तिले पनि सहयोगको हात अघि बढाएका छन् । अमेरिकामा हुने यो भ्याक्सिन परीक्षणले एकपटक क्यान्सर कम भइसकेपछि फेरि फर्कने संभावना घटाउनसक्छ । यी बालकका लागि अहिलेसम्म १ लाख ८० हजार पाउन्ड सहयोग संकलन भइसकेको छ ।
बाबु सिमोनका अनुसार न्युरोब्लास्टोमाको सफल उपचार गरिएका ५० प्रतिशत बालबालिकामा यो समस्या फेरि दोहोरिन्छ । अनि समस्या दोहोरिएकामध्ये ९० प्रतिशत बालबालिका बाँच्न सक्दैंनन् । ‘न्युर्योकको मेमोरियल स्लोअन केट्टिरिङ क्यान्सर सेन्टरमा हुने भ्याक्सिन परीक्षणले यस्तो हुने जोखिमलाई कम गर्नसक्छ र आर्चीको उत्कृष्ट जीवनका लागि हामीले सबै प्रयास गरेका छौं भन्ने बोध गराउँछ,’ उनले भने ।
कोरोनाको उच्च मारमा परेको बेलायतमा यस्तै सुखद समाचारहरु आउने क्रम पनि जारी छ । यसअघि ९९ वर्षीय एक हजुरआमाले कोरोनाविरुद्धको युद्ध जितेकी थिइन्, उनी हिजोबाट १ सय वर्ष प्रवेश गरेकी छिन् । त्यस्तै केइथ वाट्सनले पनि १ सय १ वर्षको उमेरमा कोरोना जितिन् ।हल्याण्डमा पनि १ सय ७ वर्षकी एक महिलाले कोरोना जितेकी छिन् ।
https://www.youtube.com/watch?v=dQtQtepOX-Y&t=336s
४८ घण्टामा पत्ता लाग्यो नतिजा
आर्चीले आफ्नो कोरोना परीक्षणको नतिजा पत्ता लगाउन ४८ घण्टा कुर्नु परेको थियो । तर अब एडिडनब्रोकको अस्पतालले पोर्टेबल साम्बा सेकेन्ड मेसिनहरु प्रयोगमा ल्याएको छ, यसले ९० मिनेटभन्दा कम समयमा कोरोना परीक्षणको नतिजा दिनसक्छ । विज्ञहरुले बालबालिका कोरोनाको कम जोखिममा रहने बताएका छन् । तर आर्चीका बाबु सिमोन बच्चालाई कोरोना लाग्दैन भनेर ढुक्क नहुन अभिभावकसँग आग्रह गर्छन् । -रातोपाटी
प्रतिक्रिया