ह्वाइट हाउसको कोरोनाभाइरस टास्क फोर्सको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्लो केही दिनदेखि नयाँ संक्रमितको संख्या स्थिर भएको जानकारी दिएका छन् । ट्रम्पले सोमबारको पत्रकार सम्मेलनमा भने, ‘न्यूयोर्क, न्यू जर्सी, मिशिगन र लुसियानाजस्ता हटस्पटमा अस्पताल भर्ना हुने प्रक्रिया सुस्त भएको छ । किनभने अमेरिकीले निर्देशनको पालना गरिरहेका छन् । तपाईं चार्ट पनि हेर्न सक्नुहुन्छ । सुरुमा एक लाख बढी मृत्यु हुने बताइएको थियो । हाम्रो संख्या कम हुनेछ । यसको ठोस् प्रमाण यो हो कि हाम्रो आक्रामक नीतिले काम गरिरहेका छन् ।’
डा. फाउचीको उक्त अन्तर्वार्तापछि ट्रम्पले उनलाई संक्रमित रोगको प्रमुखबाट हटाइदिने अड्कलबाजी गरिएको थियो । फाउचीले भने, ‘मलाई काल्पनिक प्रश्न सोधिएको थियो र यस्ता प्रश्नले थुप्रै पटक समस्या निम्त्याउँछ । अन्तर्वार्तामा सोधिएको प्रश्नको जवाफको शब्द चयन राम्रोसँग गरिएको थिएन ।’
राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारी रोक्नका लागि आफूले सबैकुरा राम्रो गरिरहेको बताए । ट्रम्पले भने, ‘जब मैले सुरुवातमा नै संक्रमण रोक्नका लागि प्रतिबन्ध लगाएँ, त्यतिबेला पनि मेरो निकै आलोचना भयो ।’
अमेरिकामा ३० लाखमाथि कोरोनाभाइरस परीक्षण गरिएको ट्रम्पले बताए । उनले दैनिक १५ हजार जनाको परीक्षण भइरहेको पनि जानकारी दिए । अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसका ५ लाख ८६ हजार ९ सय ४१ जना संक्रमित छन् भने २३ हजार ६ सय ४० को मृत्यु भइसकेको छ ।
प्रतिक्रिया