खुला सीमाका कारण नेपाल–भारत सिमानामा ओहोरदोहोर बन्द गर्न कठिन भएको छ । सीमाका सम्पूर्ण नाका बन्द भए पनि अनौपचारिक बाटोबाट एक अर्का देशमा ओहोरदोहोर भइरहेका कारण त्यहाँका स्थानीय प्रशासन हैरान छ ।
नेपाल र भारतले एक अर्का देशका नागरिक जो जहाँ छन्, त्यहीँ राख्ने र त्यसको व्यवस्था त्यही देशको सरकारले गर्ने सहमति भएको छ । दुवै देशका नाकामा कोही रोकिएका छन् भने कोही आ–आफ्नै ठाउँमा रोकिएका छन् तर खुला सीमाका कारण लुकीछिपी एक अर्काको देशमा ओहोरदोहोर भइरहेको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले खुला सीमाका कारण सीमा क्षेत्रमा आवतजावत नियन्त्रण गर्न अलि कठिन भएको बत(ाउनुभयो । उहाँले भन्नुभयो, ‘‘दुई देशबीच सीमा खुला भएका कारण को आए ? को गए ? त्यसको कुनै तथ्याङ्क हुँदैन, मान्छे पहिचान गर्नमा समस्या भएको छ, यद्यपि सुरक्षा निकायबाट ‘स्क्रिनिङ’ र ‘ट्राफिकिङ’ गर्ने काम भइरहेको छ ।’’
प्रदेश २ को पर्सा जिल्लामा भेटिएका तीन जना कोरोना सङ्क्रमणका कारण सीमा क्षेत्रमा त्रास उत्पन्न भएको छ । सङ्क्रमित तीनै जना भारतीय नागरिक हुन् । गत मार्चमा भारतको दिल्लीमा सम्पन्न तब्लिगी जमात (मुस्लिम समुदायको प्रचारप्रसार गर्ने) कार्यक्रमपछि थुप्रै मुस्लिम नेपाल भित्रिएका कारण सीमा क्षेत्रमा झन् समस्या भएको छ । जमातबाट नेपालका मात्र होइन, विभिन्न देशका मुस्लिम नेपाल छिरेका छन् । उनीहरू नेपालको विभिन्न मदरसा र आफन्तको घरमा लुकीछिपी बसेको पाइएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
प्रतिक्रिया