अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस (कोभिड १९) महामारीको उत्कर्ष पार गरिसकेको बताएका छन् । उनले अब केही राज्यहरु यही महिनादेखि पुन खुलाउन थाल्ने बताएका छन् ।राष्ट्रपति कार्यालय ह्वाइटहाउसबाट दैनिक ब्रिफिङका क्रममा उनले राज्यहरु फेरि खुला गर्ने विषयमा राज्यका गभर्नरहरुसँग कुरा गरेपछि बिहीबार घोषणा गर्ने बताएका छन् ।
‘हामी फेरि फर्किन चाहन्छौं, उनले भनेका छन् ‘हामी चाहन्छौं कि हाम्रो देश फेरि फर्कियोस् ।’ अमेरिकामा अहिलेसम्म ६ लाख ३५ हजार जनामा कोरोना भाइरस संक्रमण भइसकेको छ भने २८ हजार भन्दा धेरैको मृत्यु भएको छ ।‘यो तथ्यांकले देशब्यापी रुपमा हामी उत्कर्षमा पुगेको संकेत दिन्छ’ ट्रम्पले भनेका छन् । ट्रम्पले ३३ लाख जनाको कोरोना भाइरस संक्रमण परीक्षण गरिसकिएको जानकारी गराएका छन् । ‘यसले हामीलाई अमेरिका फेरि खुला गर्ने रणनीति बनाउन बलियो अवस्थामा पुर्याएको छ’ उनले भनेका छन् ।
अमेरिकी राष्ट्रपति कार्यालयले आउँदो मे महिनाको एक तारेखबाट अमेरिका खुला गर्ने विषयमा तयारी गरिरहेको छ । तर ट्रम्पले कुनै कुनै राज्य त्यसअघि नै खुला गर्न सकिने बताएका छन् । ‘मलाई लाग्छ, त्यो समय धेरै उत्साहजनक हुनेछ’ उनले भनेका छन् ।
प्रतिक्रिया