साँगाबाट फर्काइएका मजदुर भन्छन्– ‘कोठामा अन्न छैन, घरबेटीले बस्न दिँदैनन्’ !


अरनिको र बीपी राजमार्ग हुँदै गृहजिल्ला जान लागेका पैदलयात्रीलाई काभ्रे प्रशासनले फिर्ता पठाएको छ। बालबच्चा, सामान बोकेर हिँडेकालाई प्रहरीले भक्तपुरको सीमा साँगामा रोकेर उपत्यका नै फिर्ता गरेको हो। ‘कोठामा खानेकुरा सकिएपछि बालबच्चासहित गाउँ फर्किन लागेको थियौं, साँगाबाट प्रहरीले जान दिएनन्,’ ग्वार्कोमा ज्यामी काम गर्दै आएकी उदयपुर कटारीकी सञ्जीता विकले भनिन्, ‘अब फर्किएर गए घरबेटीले बस्न पनि दिँदैनन्, अन्नको गेडा पनि छैन।’ मंगलबार राति १० बजे घर जान हिँडेका उनी पानीमा रुझ्दै बिहान साँगा पुगेकी थिइन्। ग्वार्कोमा राहत लिन जाँदा स्थानीय वडाले घरबेटीको नागरिकतामा मागेपछि जुटाउन नसक्दा उनीहरुले पाएनन्। ‘राहतको सट्टा बरु घर जाऔं भनेपछि गाउँ फर्कन थालेका थियौं,’ चिन्तित मुद्रामा सञ्जीताले भनिन्, ‘अब कोठामा फर्किएर पनि खाने अन्न छैन। कसरी बाँच्ने होला।’

जिल्ला प्रशासन कार्यलयले काभ्रे हुँदै अन्य जिल्ला जान रोक लगाएपछि अरनिको र बीपी राजमार्गमा पैदलयात्रीको बिजोग भएको छ। काठमाडौं, भक्तपुर, ललितपुरका विभिन्न स्थानबाट आएका उनीहरुलाई प्रहरीले फिर्ता पठाएको थियो। केही भने प्रहरीको आँखा छल्दै शाखा बाटोमार्फत घर लागेका छन्।

 

‘प्रशासनले कडाइ गर्न भनेपछि फिर्ता पठाइएको हो,’ इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले भने, ‘उपत्यकाले पनि कडाइ गर्न थालेको छ, जुन स्थानमा भए पनि सुरक्षित बस्न अनुरोध गरेका छौं।’

 

कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै जिल्ला प्रशासन कार्यलय काभ्रेले मंगलबार सूचना प्रकाशित गरेर जिल्ला प्रवेश गर्ने पैदलयात्रीलाई रोक लगाएको छ। लकडाउनका कारण उपत्यकामा रोकिएका विभिन्न जिल्लाका एक सयभन्दा बढी पैदलयात्री दैनिक काभ्रे हुँदै गृहजिल्ला जान थालेका थिए।

लकडाउनलाई प्रभावकारी बनाउन जिल्लाभित्र अनावश्यक रुपमा हिँडडुल गर्नेलाई सोही स्थानबाट नियन्त्रणमा लिने, छिमेकी जिल्लाबाट पैदल नै जिल्ला प्रवेश गर्नेलाई पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए। अत्यावश्यक सेवा बाहेकका सवारी पास नलिएका सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाएको पनि प्रशासनले जनाएको छ।

 

कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै सरकारले घोषणा गरेको लकडाउनका कारण यातायातका साधन नचलेपछि काठमाडौंबाट मानिसहरु बीपी राजमार्ग हुँदै पैदल नै घर फर्किरहेका छन्। लकडाउन लम्बिने संकेत देखिएपछि काठमाडौंबाट बेखर्ची भएर हिँडेका उनीहरु भोक, प्यास नभन्दै ५/६ दिनसम्म लगाएर कम्तीमा ३ सय किलोमिटर दुरी पार गर्दै आएका हुन्। काठमाडौंबाट आउने पैदलयात्रीहरु तराईका सप्तरी, सिरहा, सुनसरी, उदयपुर, ओखलढुंगा लगायतका जिल्ला हिँडेका छन्।