Logo

प्रधानमन्त्री ओलीलाई खुला पत्र !

सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार

यो पत्र तपाईंले पढ्ने फुर्सद पाउनु होला कि नाई ? तर तपाईंका सल्लाहकारहरुले पक्कै पढ्नेछन् । सल्लाहकारहरुको माध्यमबाट तपाईंसँग पुग्छ भन्ने लागेको छ ।सर्वप्रथम तपाईंको शीघ्र स्वाथ्यलाभको कामना गर्दछु । जसरी तपाईंको बाँच्न पाउने अधिकार सुरक्षित भएको छ त्यसैगरी गरिब र श्रमिकहरुको पनि बाँच्न पाउने अधिकारको विषयमा तपाईं गम्भीर बन्नु हुनेछ भन्ने आशा लिएको छु ।
यतिबेला राष्ट्र नै कोरोना त्रासमा बाँचिरहेको छ । सरकारमा गरिब र मजदुर उत्थानका नारा उचालेर सत्तामा पुगेको कम्युनिस्ट पार्टीको सरकार छ । गरिब र निमुखाहरु रोगको भन्दा भोकको चिन्ताले ग्रसित छन् । सहरमा चुलो बल्ने अवस्थाको अन्त्य भएपछि हिँडेरै हप्ता दिनको यात्रा तय गरेका मजदुरका दुःखका समाचारहरुले प्राथामिकता पाइरहेको छ ।

ठिकै यही बेला मैले तपाईंले गरेको भाषण सम्झिरहेको छु, ‘आज म भन्न चाहन्छु, सरकार खोज्नेहरुलाई, सरकार देख्नुभएन ? सोध्न चाहन्छु ? तपाईंले पावरवाला चस्मा लगाउनुपर्दैन । तपाईंहरुले नचाहे पनि सरकार देख्नुहुनेछ । नपत्याए मजदुरलाई सोध्नुहोस कहाँ छ ? श्रमजीवीलाई सोध्नुहोस् कहाँ छ ? दुःख पाएका गरिब जनतालाई सोध्नुस् कहाँ छ ?’ मैले पहिला मजदुरलाई सोधेँ र पनि सरकार भेट्न सकिनँ । चामल सकिएर पैदल घर हिँडेका श्रमजीवीलाई पनि सोधँ तर सरकार भेट्न सकिन । गरिबहरुलाई पनि सोधे सरकार भेट्न सकिन र पावरवाला चस्मा लगाएँ अनि खोजेँ र पनि सरकार भेटिनँ ।

 

माफ गर्नुहोस् प्रधानमन्त्रीज्यू,
योबेला मलाई तपाईंसँग पौँठेजोरी खेल्नु छैन । मात्र तपाईंले भाषणमा भनेको सरकार कहाँ छ ? उत्तर चाहिएको छ । तपाईंलाई नागरिकताको फोटोकपी नभएर राहत नपाएका जनताको गुनासो पनि सुनाउनु छ । मैले यसो भनिरहँदा यस्तो बेलामा पनि सरकारको खेदो खन्ने भन्नुहोला । तपाईंका सल्लाहकारहरु त फेसबुकमा नै जोरी खोज्न आउलान् । तर यो कदापी सरकारको विरोध होइन । लकडाउन गरेर मात्र समस्या समाधान भयो कि लकडाउनसँगै सरकारले अन्य दायित्व पनि पूरा गर्नुपर्छ ? यो आजको सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो ।

 

औषधि किन्न गएकाहरु बीच बाटोमा पिटिएको भिडियो हेरेपछि तपाईंलाई दुख्यो कि नाई ? तर हामीलाई कोर्रा हानेझैँ भएको छ । लकडाउन लागू गर्ने समयमा तपाईंले जेलजीवनको पनि स्मरण गर्नुभयो । सत्ताले दिएको यातनाको भुक्तभोगी तपाईंले पनि यो पीडालाई महसुस गर्नुभयो भन्ने लागेको छ । सुन्दर सहर र घर बनाउने परिकल्पना गरेर सहर छिरेका मजदुरहरु रोगको भन्दा भोकको चिन्ताले पैदलै घर हिँडेको दृश्यले धेरैका गहभरी आँशु भएका छन् । तर तपाईंको त गैँडाको जस्तो हृदय भएर तपाईंलाई उनीहरुको दुःखले दुखेन । बरु जगदम्बा कम्पनी र ओम्नी कम्पनीको चिन्ताले सतायो होला । २० रुपैयाँमा मेडिकल मास्क बेचेको आरोपमा दुई लाख जरिवाना तिरेको व्यापारीलाई पनि माथ खुवाउने गरी ३७ रुपैयाँमा सोही मास्क किन्दा अलिअलि लज्जा बोध भयो कि नाई ?

समाचार सङ्कलनकै क्रममा म सुकुम्बासी बस्तीमा पुगेँ । सेतीका किनाराहरुमा पनि पुगेँ । अस्पतालमा उपचार नपाएर रातभर अस्पतालको चौरमा बिताएका बिरामी भएको ठाउँमा पनि पुगेँ । तर कतै सरकार भेटिन । सेतीमा बालुवा चाल्ने मजदुरहरु भन्दै थिए भरे खाने चामल छैन अनि बालुवा नचालेर के गर्ने ? कोठामा चामल सकिएपछि हिँडेपछि राजमार्गको बीच भागमा पैदल हिँडिरहेका मजदुरहरु भेटेँ र तपाईंकै शैलीमा सोधँे किन रहर लागेर सडकमा हिँडिरहनुभएको छ ? खिएर छेडिन लागेको चप्पल देखाउँदै भने–‘रोगको भन्दा भोकको चिन्ताले च्यापेपछि हिँड्नुको अर्को विकल्प भएन सर । तेल सामान सकियो, माटो कोपरेर बस्ने कुरा पनि भएन । हिँडेरै घरसम्म पुग्न सकियो भने त आँटो पिठो जे छ खान पाइन्छ । नत्र त भोक भोकै मर्नुपर्ने भयो ।’

उनको आँखाबाट झरेको आँशुले मेरो प्रश्नलाई बारबार लज्जाबोध गरायो । तपाईंलाई तपाईंका भाषणहरुले कहिलेकाही हीनताबोध गरायो कि गराएन कुन्नि ? अझ चुनावको बेलामा ‘कोही जनता खान नपाएर भोकभोकै मर्नुपर्दैन’ भन्ने भाषणले गिज्यायो होला कि नाई ?

सरकारले लकडाउन घोषणा त गर्यो जुन राम्रो काम थियो । तर बिहान कमाएर बेलुकीको छाक टार्ने मजदुरहरु पाँच किलो चामलले कति समय बाँच्न सक्छन् ? महिना दिन पुग्दा त विचार गर्नुपर्ने हो । अझै यतातिर त राहतको नाममा रमिता चलिराको छ । एक किलो नुन पाँच जनालाई बाँडिएको छ । जनप्रतिनिधिहरुले दुई किलो चामल दिएर हानिरहेको सेल्फीले तपाईंलाई कतै घोच्यो होला कि नाई ?
आजकाल मान्छेहरु मर्ने चिन्ताले भन्दा पनि बाँच्ने डरले पलपल मरिरहेका छन् । अस्ति एक जना मजदुरले भन्दै थिए, ‘यी नेताहरुलाई दुई छाक भोकभोकै राख्नुपर्छ अनि बल्ल भोकको महत्त्व बुझ्छन् ।’ कलकत्तामा भएको जुलुस हेरेर मनमनै डर लागिरहेको छ । कतै नेपालमा पनि त्यो परिस्थितिको निर्माण त हुँदै छैन ? भन्ने प्रश्नले बारबार घोचिरहन्छ ।

आत्मविश्वासी प्रधानमन्त्रीज्यू ,

जनताका केही चाहना छैनन् । बस तपाईंले गरेको भाषणहरुलाई पूरा गरेर देखाइदिइनुस् । हामीलाई यतिबेला रेल र पानी जहाज चाहिएको छैन । बस ती गरिब किसानहरुले भोकको चिन्तामा पैदल हिँडेर बिच्चली पर्ने परिस्थितिको अन्त्य होस् । सल्लाहकारहरुबाट सही सुझाव लिनुस् र उनीहरुलाई पनि सुझाव दिनुस् । जनतासँग सुझाव लिनुहोस् । झगडा गरेर नबस्नुस् ।
अन्त्यमा देश र तपाईं दुवैको स्वास्थ्य लाभ होस् । शुभकामना ।
सौगात पोखरेल
पोखरा 

प्रतिक्रिया दिनुहोस्