कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएकी बागलुङकी ६५ वर्षीया मनकुमारी पौडेल निको भएर घर फर्किएकी छन् । शनिबार उनको रिपोर्ट नेगेटिभ आएपछि धवलागिरि अस्पतालले डिस्चार्ज गरेको हो । उनको तेस्रो र चौथो पटकको थ्रोट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।
बागलुङ नगरपालिका–३ की उनलाई दुई साता होम क्वारेन्टाइनमा बस्न भनिएको छ । ‘उहाँ अझै केही समय होम क्वारेन्टाइनमै बस्नुहुन्छ’ धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बि. पोखरेलले भने, ‘हामीले उहाँको स्वास्थ्य अवस्थाबारे घरमै रहेका बेलामा समेत बुझ्नेछौँ ।’
चैत ४ मा बेल्जियमबाट कतार एयरवेजको विमानबाट आएकी उनलाई कोरोना संक्रमण भएको २० चैतमा पुष्टि भएको थियो । त्यसयता उनको धवलागिरि अस्पतालमा उपचार भइरहेको थियो । तर, उनमा कोरोनाको लक्षण देखिएको थिएन ।
डिस्चार्ज भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो आत्मविश्वासले कोरोनालाई जित्न सफल भएको बताइन् । ‘म यसलाई जितेरै छोड्छु, सञ्चो भएर छोड्छु भन्ने अठोट गरेँ’ उनले भनिन्, सबैभन्दा ठूलो हिम्मत र सकारात्मक सोच रहेछ ।’
उनले १५ वर्षदेखि दमको औषधि सेवन गर्दै आएकी थिइन् । त्यहीकारण कोरोना जित्न मुस्किल पर्छ कि भन्ने लागेको भन्दै उनले भनिन्, मैले हिम्मत हारिन । आत्मबल बढाउँदै लगे र अन्त्यमा कोरोनालाई जितेर घर फर्कने भएकी छु ।’
आफूले परिवारबाट अलग्गै बस्नाले अन्य सदस्यलाई सर्न नपाएको भन्दै उनले पूर्वसचेतना अपनाउनु पर्नेमा जोड दिइन् । घर फर्किने क्रममा उनले आफ्नो उपचारमा खटिने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।धवलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बि. पोखरेलका अनुसार अस्पतालमा १९ वर्षीया युवती २० दिनदेखि कोरोना सङ्क्रमितका रुपमा उपचाररत छिन् ।
प्रतिक्रिया