भारत महाराष्ट्रको पालघरमा बिहीबार कुटीकुटी तीन जनाको हत्या गरिएको विषयमा अनुसन्धान गर्न प्रहरीले १ सय १० जनालाई पक्राउ गरेको छ । मुख्यमन्त्री उद्धव ठाकरेले दोषीलाई कठोर दण्ड दिने घोषणा पनि गरेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार पालघरबाट सुरततर्फ गाडीमा जाँदै गरेका तीन जनालाई बाटोमा रोकेर केही व्यक्तिहरुले कुटीकुटी हत्या गरेका थिए । मृत्यु हुनेमा ७० र ३५ वर्षका दुई जना साधु र उनीहरुको गाडी चलाउने ३० वर्षीय चालक छन् ।
आक्रमणकारीले उनीहरु चोर रहेको भन्दै आक्रमण गरेका थिए । तर, ती तीनैजना व्यक्ति एक जनाको अन्तिम संस्कारमा सहभागी हुनका लागि सुरत जान लागेको बताइएको छ । पालघर प्रहरीले आक्रमणमा संलग्नको पहिचान गर्न ११० जनालाई पक्राउ गरेको जानकारी ट्वीटरमार्फत् दिएको छ । पक्राउ पर्नेहरुमा ९ बालबालिकासमेत छन् । १०१ जनालाई यही अप्रिल ३० तारिखसम्मका लागि भनेर हिरासतमा राखिएको छ । प्रहरीले हत्याको अनुसन्धान जारी रहेको जनाएको छ ।
प्रतिक्रिया