बर्दियाबाट भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत भारतीय नागरिकहरुमा कोरोना पुष्टि भएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अनलाइनखबरसँग भने, ‘अहिले क्रसर रहेको क्षेत्र र त्यस वरपर उच्च निगरानी र सतर्कता अपनाएका छौं ।’
त्यसलगत्तै क्रसर उद्योगमा कार्यरत सबै मजदुरको थ्रोट स्वाबको नमूना लिएर परीक्षण गरिएको थियो । तर, अन्यमा कोरोना संक्रमण नदेखिएको प्रजिअ लामिछानेले बताए । उनले भने, ‘हामीले थाहा पाउनासाथ पीसीआर टेष्टका लागि पठायौं तर कसैमा पनि पोजेटिभ रिजल्ट आएको छैन ।’ उनीहरु कार्यरत क्रसर उद्योगमा पाँच भारतीय र ११ नेपाली नागरिक रहेको बताइएको छ ।
कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले नेपाल र भारत दुवै पक्षले सीमा नाका बन्द गरे पनि ती भारतीय नागरिकहरु भारतबाट लुकिछिपी भारत गएको हुन सक्ने अनुमान छ ।
प्रहरी कार्यालय जनपथ बहराइचका सुपरिटेन्डेन्टले हस्ताक्षर गरेको सो पत्रमा ती मजदुरहरू वैशाख ५ गते साँझ आफ्नो घर फर्किएको र ८ गते स्वास्थ्य परीक्षण गर्दा पोजेटिभ रिजल्ट आएको उल्लेख छ । यद्यपि पत्रमा, र्यापिड टेस्टबाट हो कि पीसीआरबाट परीक्षण गरिएको हो भन्ने स्पष्ट उल्लेख छैन ।
जिल्ला स्वास्थ्य कार्यालयका अधिकारीहरुका अनुसार कोरोना देखिएका दुई जना भारतीय नागरिकहरु वैशाख ५ गतेसम्म बर्दियामै रहेकाले बर्दिया जिल्ला जोखिममा छ ।
यसैबीच बर्दियाकै एक जना व्यक्तिलाई भारतमा कोरोना संक्रमण पुष्टि भएको छ । ठाकुरबाबा नगरपालिका घर भएका ती व्यक्ति भारतबाट नेपाल फर्किने क्रममा भारतीय पक्षले सिमानामा स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । त्यसपछि उनलाई भारतीय पक्षले नै नेपाल आउन नदिई क्वारेन्टाइनमा राखेको बर्दियाका प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए ।
प्रतिक्रिया