चलचित्र ‘लभ डायरिज’ अहिले युट्युब ट्रेण्डिङको शिर्ष स्थानमा छ । युट्युबमा रिलिज भएको ६ दिनमा नै यस चलचित्रले २६ लाख भ्युज पाइसकेको छ । चलचित्रलाई धेरैले रुचाएका छन् ।
तर, हलमा रिलिज भएको दुई महिना नबित्दै यस चलचित्र युट्युबमा आएको छ । निर्माणपक्षले निकै हत्तारो गरेर चलचित्रलाई युट्युबमा रिलिज गरेको छ ।
आखिर किन हत्तारो गरेर रिलिज गरियो त ?
यस विषयमा निर्देशक सौरभ चौधरी लकडाउनमा थुनिएर बसेका दर्शकलाई लक्षित गरेर यस चलचित्र रिलिज गरिएको बताउँछन् ।
उनले भने, ‘हलबाट चलचित्र बाहिरिएपछि अर्को आश भनेको विदेश शोको थियो । तर कोरोनाको कारण विदेशमा तय भएको सम्पूर्ण शो रद्द भइहाल्यो । कोरोनापछि पनि विदेशमा गएर चलचित्र रिलिजको महोल बन्ने देखिएन । त्यसैले युट्युबबाट नै सार्वजनिक गरेका हौँ ।’
निर्देशक चौधरीलाई आफ्नो काम धेरै दर्शकले हेरुन् भन्ने लोभ थियो । लकडाउनको समयमा भ्यूज धेरै आउने उनले सोचे र युट्युबमा हाले ।
अरु समय व्यस्त रहने मानिसहरु पनि अहिले सबै फुर्सदमा घरमै छन् । नयाँ चलचित्र युट्युबमा आएको भनेपछि पक्कै उनीहरुले चलचित्र हेर्छन् । त्यसैले पनि रिलिजको लागि हत्तारो गरेको निर्देशक चौधरीले बताए ।
प्रतिक्रिया