प्रदेश ५ का सांसद र रुपन्देहीका सुरक्षा निकायका प्रमुखहरुले नेपाल– भारत सीमा मर्चवारको स्थलगत अवलोकन गरेका छन् । नेपाल र भारत लकडाउनमा भएपनि सीमा क्षेत्रमा स्थानीय तहका जनप्रतिनिधिकै सहयोगमा भारतबाट मानिसहरु नेपाल भित्रिन थालेको गुनासो आएपछि उनीहरु मर्चवार पुगेका हुन् । मर्चवारमा १ जना कोरोना सक्रंमित भेटिएका थिए ।
प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापा र सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलसहितको सुरक्षा निकायको टोली रुपन्देहीको सम्मरीमाई गाउँपालिका–३ स्थित तरैनी नाका र मर्चवारी गाउँपालिका–१ स्थित खैराघाट नाका पुगेका हुन् ।
मर्चवारमा नेपाल र भारत दुवैतर्फका आफन्त भएका कारण लकडाउन समयमा समेत फाट्टफुट्ट रुपमा मानिसहरु आउने र जाने क्रम नरोकिएको स्थानीयवासीको गुनासो छ । स्थानीयवासीले गुनासो गरेपछि सांसद तथा प्रहरी प्रमुखले फिल्डमै पुगेर जनप्रतिनिधिलाई सचेत गराएका छन् । उनीहरुले स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीलाई कोरोनाविरुद्ध लड्नका लागि सीमा क्षेत्रको अनुगमन गर्न आग्रह समेत गरेका छन् ।
प्रदेशसभा सांसद पाण्डेयले महामारीको सन्दर्भमा कनै जात, धर्म, क्षेत्र र पार्टी नभएकोले जनताको सेवामा लागेको नाममा भारतमा रहेका नागरिकहरुलाई नेपाल भित्र्याउने काम नगर्न आग्रह गरे । उनले गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष मात्र नभई वडा सदस्यहरु समेत थप जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले भने, ‘भारतमा रहेका नेपाली नागरिकलाई २÷४ दिन उतै बस्न दिएर पहाड खस्दैन, महामारी आए पहाड खस्नुभन्दा खतरा हुन्छ’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक एसपी हेमकुमार थापाले सिमाक्षेत्रको आवतजावतलाई सबै मिलेर समाधान गनुपर्ने बताए । जिल्लावासीको सुरक्षाप्रति प्रहरी अझ बढी चिन्तित भएर सुरक्षा सतर्कता बढाइएको उनले बताए । सशस्त्र प्रहरी नेपाल नम्बर २७ गण रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले प्रहरीलाई दुश्मनको रुपमा नबुझी सहयोगीको रुपमा बुझ्न आग्रह गरे ।
जनताको सुरक्षाको लागि प्रहरी लाग्नु प्रहरीको दायित्व भएको उनको भनाइ थियो । सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु)ले परिवार, गाउँ र समाज बचाउन केही समयका लागि कष्ट सहनुपर्ने बताए । उनले सबैलाई सुरक्षित बनाउनु नै अहिलेको प्रमुख कार्य भएको बताए । रुपन्देहीको मर्चवार सबैभन्दा जोखिमयुक्त ठाउँ मानिन्छ ।
प्रतिक्रिया