अमेरिकाले कोरोना टास्क फोर्स खारेज गर्ने, मृतकको संख्या ७१ हजार नाघ्यो !


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना टास्क फोर्स खारेज गर्ने बताएका छन् । अहिलेको टास्क फोर्सले राम्रो काम गरेको बताउँदै उनले अब त्यसमा परिवर्तन आवश्यक रहेको बताए । अमेरिकामा कोरोना संक्रमण फैलिँदै गएपछि त्यसविरुद्ध लड्न ट्रम्प प्रशासनले उपराष्ट्रपति माइक पेन्सको नेतृत्वमा कोरोना टास्क फोर्स बनाएको थियो । उपराष्ट्रपति पेन्सले पनि केही हप्ताभित्रै टास्कफोर्स खारेज हुने बताएका छन् ।

हाल अमेरिकामा दैनिक औसत २० हजार जनामा कोरोना संक्रमित थपिइरहेका छन् भने दैनिक औसत १ हजार जनाको मृत्यु भइरहेको छ । अमेरिकामा अहिले १२ लाख ३ हजार ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७१ हजार २२ जनाको मृत्यु भएको छ ।

कोरोना टास्क फोर्स खारेजको विषयमा पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले कोरोनाविरुद्धको लडाइँ भने अझै नसकिएको बताए । उनले भने, ‘मिसन त्यतिबेला पूरा हुन्छ, जतिबेला कोरोना सकिन्छ ।’ अमेरिकाले अब अर्थ व्यवस्था उकास्ने काम गर्न अर्को टास्क फोर्स बनाउने तयारी गरेको छ र त्यसको नेतृत्व ट्रम्पका ज्वाइँलाई दिने तयारी भइरहेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि धेरै देशहरुले लकडाउन गरे पनि अमेरिकाले गरेको छैन । ट्रम्पका आलोचकले अर्थतन्त्र खुला गर्ने नाममा नागरिकको जीवन जोखिममा पारेको बताउँदै आएका छन् । ट्रम्पले भने अमेरिकालाई अझै पाँच वर्षसम्म बन्द गर्न नसकिने बताएका छन् ।