सिंहदरबार गेट अगाडी प्रहरी र चिनियाँबीच भएको झडपलाई लिएर चीनले खोल्यो मुख !


घर फर्कन पाउनुपर्ने माग राख्दै सिंहदरबारमा प्रदर्शन गर्ने चिनियाँहरुलाई नेपालको नीति–नियम पालना गर्नका लागि काठमाडौंस्थित चिनियाँ दूतावासले अनुरोध गरेको छ । ‘नेपालमा रहेका चीनका नागरिकसँग कडा रुपमा नेपालको नीति–नियम पालना गर्न चिनियाँ पक्षले सधैं भन्ने गरेको छ, उनीहरुलाई कानूनसम्मत रुपमा तर्कसंगत माग राख्न भनिएको छ,’ दूतावासले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

चिनियाँ दूतावास र नेपाल प्रहरीको सहकार्यमा सिंहदरबारमा शुक्रबार भएको चिनियाँ नागरिकको विरोध प्रदर्शनसम्बन्धी घटनाको सम्बोधन गरिएको दूतावासका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रवक्ताका अनुसार विविध कठिनाइका कारण नेपालमा अलपत्र परेका झन्डै ३ सय ४० जनालाई घर फर्काइएको छ । सीमित उडान सामथ्र्यका कारण आफ्ना केही नागरिक अझै नेपालमै अलपत्र परेको र ३१ मेइ सम्मका लागि नेपाल सरकारले नियमित अन्तर्राष्ट्रिय उडान रद्द गरेपछि ती नागरिकले घर फर्कन पाउनुपर्ने माग विभिन्न च्यानलमार्फत गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस विषयमा नेपाली पक्षसँग संवाद भइरहने र नेपाल र चीनले एकअर्कालाई बुझेर लकडाउन नियमका कारण उत्पन्न विभिन्न घटनालाई संयुक्त रुपमा सम्बोधन गर्ने विज्ञप्तिमा उल्लेख छ । चिनियाँ दूतावासले लकडाउनको समयमा नेपालको नीतिनियम पालना गर्नका लागि चिनियाँ नागरिकलाई पटक–पटक स्मरण गराएको छ र अनाश्यक रुपमा बाहिर ननिस्कन भनेको विज्ञप्तिमा उल्लेख छ ।