एकैदिन १० जनामा कोरोना संक्रमण देखिएपछि कपिलवस्तुलाई सिल गर्ने सरकारको निर्णय !


कपिलवस्तुमा एकैदिन १० जनामा कोरोना भाइरस कोभिड–१९ को देखिएपछि सरकारले बल्ल कडा कदम चालेको छ । सरकारले कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम बढेको छ भने सीमा नाकामा २१ सयभन्दा बढी नेपाली जम्मा भएका छन् ।

भारतबाटै आएकाहरुमा कोरोना संक्रमण भेटिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको हो । सोमबार मात्र यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएपछि थप सर्तकता अपनाउँदै सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।

अब पूर्वपश्चिम राजमार्गमा आवतजावत गर्ने अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्स लगायतका साधनहरु नरोकिकन आउजाउ गर्न सक्नेछन् । स्थानीय प्रशासन ऐन २०२८ को ६(३) क र संक्रामक रोग ऐन दफा २० बमोजिम जिल्लाभित्र साधन सवारी, उद्योग, निर्माण कार्यमा पूर्ण रोक लगाइएको छ । कपिलवस्तुमा सोमबारसम्म कोरोना संक्रमितको संख्या १५ पुगेको छ । तरकारी तथा खाद्यान्न किनमेलका लागि विहान ७ बजेदेखि ९ बजेसम्म समय छुट्याइएको छ ।

यस्तै नेपालमा थप दुई जना कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किएका छन् । कोशी अञ्चल अस्पतालमा उपचाररत भोजपुरका २६ वर्षीय पुरुष र झापा र ४८ वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा निको हुने संक्रमितको संख्या ३३ पुगेको छ । उनीहरुको दुईवटा पीसीआर परीक्षणमा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा कूल १२ हजार ७०१ जना छन् भने आइसोलेसनमा संक्रमित र सम्भावित संक्रमितको संख्या १ सय ५३ जना रहेका छन् ।

यस्तै विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार ६७८ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४१ लाख ७६ हजार ८८७ जना संक्रमित छन् ।

संक्रमितमध्ये १४ लाख ८७ हजार ४५४ जना उपचारपछि घर फर्किएका छन् । २४ लाख ७ हजार ५५५ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४७ हजार १६ जनाको अवस्था गम्भीर छ । कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख ५२ हजार ७४० जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्या १६ लाख २८ हजार ५७६ पुगेको छ । उत्तर अमेरिकी मुलुकहरुमा ८९ हजार ९५४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १४ लाख ९५ हजार ८४९ पुगेको छ । यस्तै एसियाली मुलुकहरुमा २२ हजार १७२ जनाको मृत्यु भएको छ । ६ लाख ६८ हजार ६०५ जना संक्रमित छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा १६ हजार ३८४ जनाको मृत्यु भएको छ । ३ लाख १० हजार ५८ जना संक्रमित छन् । अफ्रिकी मुलुकहरुमा २ हजार २९५ जनाको ज्यान गएको छ भने ६४ हजार ५३९ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५३९ पुगेको छ ।

सबैभन्दा बढी संक्रमण भएको मुलुक अमेरिकामा ८० हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ७२० जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८० हजार ७५७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ४४४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख ६६ हजार ७५३ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २ लाख ५५ हजार ६५४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ३० हजार ३४२ जनामध्ये १६ हजार ४९३ जनाको अवस्था गम्भीर रहेको छ । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३१ हजार ८५५ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म २ लाख १९ हजार ४४४ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ २६८ जनाको मृत्यु भएको छ भने अरु ३ हजार ९२३ जनामा संक्रमण देखिएको छ । १ लाख ८६ हजार ९८४ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ । इटालीमा २ लाख १९ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकै दिन १६५ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या ३० हजार ५६० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८०२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १९ हजार ७० पुगेको छ । इटालीमा संक्रमितमध्ये १ लाख ५ हजार १८६ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ८३ हजार ३२४ जनामध्ये १ हजार २७ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । स्पेनमा २ लाख ६४ हजारभन्दा बढी संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १४३ जनाको मृत्यु भएको छ भने १ हजार ८८० जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २६ हजार ६२१ पुगेको छ भने कुल संक्रमितको संख्या २ लाख ६४ हजार ६६३ पुगेको छ । १ लाख ७६ हजार ४३९ जना उपचारपछि निको भएका छन् । ६१ हजार ६०३ जना उपचाररत छन् । त्यसमध्ये १ हजार ६५० जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार २ सय १२ पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप १११ जनाको मृत्यु भएको छ । एकैदिन अरु ४ हजार ३५३ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६७ हजार १६१ पुगेको छ । ४३ हजार ९८० जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २० हजार ९६९ जना निको भएका छन् । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिएको छ ।