कोरोना त्रासका बेला स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की ! सेयर गरौ


कोरोनाविरुद्ध अग्रभागमा रहेर कार्यरत स्वास्थ्यकर्मीलाई बाँके सोनपुरका स्थानीय व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् ।स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको भनी प्रमाणिकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा खजुरा गाउँपालिका वडा नं ७ स्थित सोनपुर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की आएको स्वास्थ्यचौकीका प्रमुख सुदीप पौडेलले जानकारी दिनुभयो। धम्कीपछि स्वास्थ्यचौकी स्वास्थ्यकर्मी त्रसित भएको पौडेलले बताउनुभयो।

उहाँका अनुसार यही वैशाख २६ गते प्रसूति गराउन आउनुभएकी रफी भाटकी श्रीमतीलाई स्वास्थ्यचौकीका कर्मचारीले व्यथा नलागेको भन्दै घर फर्काईदिएका थिए। घरमै सुत्केरी भएपनि स्वास्थ्यचौकीमै जन्मिएको प्रमाणिकरण हुनुपर्ने भाटको माग अस्वीकार गर्दा उनीसहितको समूहले कार्यालयमा आएर कर्मचारीमाथि दुर्व्यवहार गर्नुकासाथै ज्यान मार्ने धम्की दिएको हो।

स्वास्थ्यचौकीमै आएर कर्मचारीलाई कार्यालय बाहिर भेटे हातखुट्टा भाँच्ने र ज्यान मार्ने धम्की दिएका कारण काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीले सुरक्षा प्रत्याभूतिको माग गरी प्रहरीमा उजूरी दिएको स्वास्थ्य चौकी प्रमुख पौडेलले जानकारी दिनुभयो।

इलाका प्रहरी कार्यालय धनौलीका इञ्चार्ज प्रहरी निरीक्षक पोषणराज थपलियाले सोनपुर स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले आफूहरुमाथि ज्यानको सुरक्षा गरी पाउँ भन्दै कार्यालयमा निवेदन दिएको जानकारी बताउनुभयो । सोबारे अनुसन्धान शुरु भएको जानकारी दिनुभयो। कोरोना भाइरस त्रासका बेला काम गरिरहेका स्वास्थ्यकर्मीमाथि धम्की आएपछि स्वास्थ्यचौकीको सेवा प्रभावित भएको छ ।