लामो समयसम्म संक्रमण नदेखिएको काठमाडौं उपत्यकामा पछिल्ला दिनमा संक्रमितहरु देखिन थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान ६:१५ मा जारी गरेको सूचना अनुसार काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणअनुसार संक्रमण पुष्टि भएको हो।
त्यसअघि गत वैशाख ३० गते राति १०:१५ जारी सूचनामा पनि काठमाडौंका ३३ वर्षीय महिलामा मा संक्रमण देखिएको थियो। सोही सूचना अनुसार, भक्तपुर निवासी २५ वर्षीय महिला र २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो। त्यसअघि लामो समयसम्म काठमाडौं उपत्यकामा संक्रमण देखिएको थिएन। फ्रान्सबाट आएकी मैतीदेवीकी एक युवतीलाई चैत १० गते र बेलायतबाट फर्किएर पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टका बस्दै आएका परिवारका दुईजनालाई वैशाख २ गते कोरोना संक्रमण पुष्टि भएको थियो। नेपालमा हालसम्म २ सय ५० जनामा संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये ३५ जना संक्रमणमुक्त भएका छन्।
प्रतिक्रिया