छाङरु पुग्यो सेनाको फौज पनि ! सेयर गरौ


भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि चर्चामा आएको दार्चुलाको छाङरुमा नेपाली सेनाले पनि टोली पठाएको छ । कालापानी, लिपुलेक क्षेत्रलाई भारतले अतिक्रमण गरेका बेला जंगीअड्डा मौन बसेको भन्दै आलोचना हुन थालेपछि सेनाले पनि छाङरुमा फौज पठाएको हो यसअघि बुधबार सशस्त्र प्रहरी बलले छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिसकेको छ ।

सेनाको अपरेसन विभागका एक जना महासेनानीको नेतृत्वमा सेनाले छाङरुमा टोली पठाएको सैनिक स्रोतले बतायो । छाङरु विवादित कालापानी क्षेत्रबाट १२ किलो वरै पर्छ । सेनाले त्यहाँको वस्तुस्थितिबारे रेकी गरेको स्रोतले बतायो । टोलीको निष्कर्षका आधारमा केही दिनमै दार्चुलामा सेनाको फौज परिचालन गरिने जंगीअड्डा स्रोतले बतायो ।

भविष्यमा सेनाको टोलीले के–के गर्न सक्छ भन्ने विषयमा पनि दार्चुला पुगेको टोलीले अध्ययन गर्ने जनाइएको छ । सेनाको दार्चुलामा उपस्थितिले सशस्त्र प्रहरीलाई पनि सहज हुने अपेक्षा गरिएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अहिले घाँटीबगर भन्ने स्थानमा ४ सय ५० मिटर सडक निर्माण गर्ने गरी टोली परिचालित हुने बताए ।

पाण्डेले भने, ‘छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक नेपाली सेनाले बनाउँदैछ । त्यसअघि सर्वसाधारणलाई छाङरुसम्म पुग्न घाँटी बगरमा ट्याक खोल्न लागिएको छ ।’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पनि घाँटी बगरमा भएको भीरका कारण पैदल हिँड्न पनि समस्या हुने गरेको बताए । त्यसैले सेनाले ट्रयाक खोल्नेबारे छलफल भएको उनले बताए ।