जुम्लामा कोरोना आशंकामा मृत्यु भएका युवाको रिपोर्ट नेगेटिभ


जुम्ला – जुम्लाको हिमा गाउँपालिकाका वडानम्बर २ ओदी गाउँका ३८ बर्षीय एक व्यक्तिको मृत्यु भएपछि कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनको रिपोर्ट नेगेटिभ आएको छ । जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार कोरोना भाइरसको संक्रमण आशंकाबाट मृत्यु भएको जानकारी आएपछि मृतकसहित दुई छोरी, एक छोरा र श्रीमतीको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षणमा परीक्षण गर्दा पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

‘गाउँमा भारतबाट आएका व्यक्तिहरु भएकाले कोरोना भाइरसको संक्रमणले मृत्यु भएको हो की भनेर आशंका गरिएको रहेछ । तर स्वाब परीक्षण गर्दा कोरोना भाइरस पुष्टि भएन’ सापकोटाको भनाइ छ ।

हिमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतन रावतले मृतक सहित पाँचै जना घरपरिवारकै स्वाब पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि कालगतिले नै निधन भएको पुष्टि भएको जनाए ।

लकडाउन अवधिभर जुम्लामा भारत तथा तेस्रो मुलुकबाट ११ हजार ३८८ जना नागरिक भित्रिएका छन् ।

जसमध्ये ५६ जना क्वारेन्टाइनमा बसेका छन् भने एक हजार २७७ जना १४ दिनपछि क्वारेन्टाइनबाट घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ ।

जिल्लामा एक हजार ६०७ जनाको पिसिआर र २७० जनाको आरडिटी परीक्षण गर्दा सवै जनाको रिपोर्ट नेगेटिभ आएको छ ।