दुखद खबर: कोरोना भाइरसबाट ३४ वर्षीय सैनिकको मृत्युपछि उनकी आमालाई पनि बचाउन सकेनन् डाक्टर


अमेरिकामा एक ३४ वर्षीय सैनिक सिमोन जामुदिओको कोरोना भाइरसबाट मृत्यु भएको छ । उनको मृत्युपछि उनकी ७० वर्षीय आमाको पनि यस महामारीबाट मृत्यु भएको छ ।अमेरिकाको एरिजोनामा जन्मिएका सिमोन र उनकी आमाको मृत्युपछि उनको घरमा उनकी पत्नी र ११ महिनाको छोरी रहेकी छिन् ।

स्थानीय मिडियाका अनुसार सिमोनका बुवाको सिमोन एक वर्षको हुँदा मृत्यु भएको थियो ।परिवारका अनुसार सिमोनलाई कोरोना भाइरस विरुद्ध लड्न जम्मा आठ दिनको समय मिलेको थियो ।खासमा सिमोनले आफ्नी आमालाई अस्पतालमा भर्ना गराउन भनी लगेका थिए । अस्पतालबाटै सिमोनमा कोरोना संक्रमण भएको थियो ।सिमोनको परिवारका अनुसार सिमोनमा सुरुको तीन दिन सामान्य लक्षण देखिएको थियो । तर, एक्कासी हालत बिग्रियो ।

सिमोनकी बहिनी एलिसियाले मिडियासँग कुरा गर्दै भनिन्, “तीन महिना पहिला हामी कोरोना भाइरसलाई लिएर विश्वास गर्दैनथ्यौँ । तर, यस महामारीको कारण यति ठुलो नोक्सान उठाउन पर्ला भनी हामीले सोंचेका थिएनौँ । ती मानिसहरु जसले कोरोनालाई सामान्य सम्झेका छन्, उनीहरुले यो सम्झिन पर्छ की यो कति खतरा छ ।”