६ दिनमा १००० सङ्क्रमित फेला परे, नेपाल सोमवार सर्वाधिक सङ्ख्यामा सङ्क्रमण पुष्टि !


सोमवार थप २३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या १,८११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सङ्क्रमितमध्ये आठ जनाको मृत्यु भइसकेको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अपराह्णसम्म विगत २४ घण्टामा २२६ जनामा कोभिड-१९ देखिएको बताएका थिए। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले थप १३ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी साँझ एउटा विज्ञप्तिमार्फत् दिए। नयाँ सङ्क्रमितमध्ये १४ जना महिला र २२५ जना पुरुष रहेका छन्।लगातार एक सयभन्दा बढी सङ्क्रमण पुष्टि भएको सोमवार छैटौँ दिन हो। छ दिनमा १,०३९ जनामा कोभिड-१९ पुष्टि भएको छ।

 

 

नेपालमा नयाँ कोरोनाभाइरस सङ्क्रमण

१० दिनमा यसरी बढ्यो सङ्क्रमण पुष्टि हुने क्रम

 

स्रोत: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

क्वारन्टीनमा भएका व्यक्तिहरूबाट नमुना सङ्कलन गरी व्यापक रूपमा परीक्षण गरिएकाले सङ्क्रमण पुष्टि हुने क्रम बढेको मन्त्रालयको भनाइ छ।

अधिकांश सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन्छ।

मन्त्रालयका अनुसार सोमवार बैतडीमा सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित हुने जिल्लाको सङ्ख्या ५९ पुगेको छ।

को हुन् सङ्क्रमित?

अधिकांश सङ्क्रमित क्वारन्टीनमा रहेका व्यक्ति हुन्।सोमवार पुष्टि भएकामध्ये बालबालिका पनि छन्।

सोमवार दैलेखमा ४०, कपिलवस्तुमा ४७ र सर्लाहीमा ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ।

 

 

nepal coronavirus update

अन्य पुष्टि भएका सङ्क्रमणहरू जुम्लामा १९, रौतहटमा १८, सल्यानमा १०, बाँके, धनुषा र दाङमा ७-७, सिरहा र सुर्खेतमा ५-५, नवलपरासी पूर्वका ३, झापा र महोत्तरीका २-२ एवम् अछाम, बैतडी, डोटी, उदयपुर, मकवानपुर र कञ्चनपुरमा १-१ रहेको डा. देवकोटाले बताए।

साँझ पुष्टि भएका सङ्क्रमितमध्ये सात जना कपिलवस्तुका, दुई-दुई जना पाल्पा र रूपन्देहीका, एक‍-एक जना नवलपरासी र गुल्मीका छन्।

अरू तथ्याङ्क के छ?

गएको २४ घण्टामा २,३१० जनाको पीसीआर परीक्षण गरिएको र २,६४८ जनामा आरडीटी परीक्षण गरिएको डा. देवकोटाले बताएका छन्।

कुल सङ्क्रमितमध्ये १,५६९ जना उपचारको क्रममा आइसोलेशनमा रहेको बताइएको छ।

 

youtube.com/watch?v=xuRncekK4Eo&t=1s

काठमाण्डू र डडेलधुरामा मृत्यु भएका दुई व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण नदेखिएको पनि डा. देवकोटाले बताए।

आइतवार अपराह्ण मन्त्रालयले २४ घण्टामा १६६ जनामा सङ्क्रमण पुष्टि भएको बताएको भए पनि पछि कुल सङ्ख्या अद्यावधिक गरेर १७५ पुगेको जनाएको थियो।

coronavirus test

BBC

नेपालमा कोरोनाभाइरस सङ्क्रमण

जेठ १९ सोमवार साँझ ७ः०० बजेसम्मको तथ्याङ्क

  • १,८११कुल सङ्क्रमण
  • ५९प्रभावित जिल्ला
  • पीसीआर विधिबाट परीक्षण ७१,९१६
  • चिकित्सकीय निगरानीमा अलग्गै१,५६९
  • देशभरि क्वारन्टीनमा१,१३,७५७
  • अहिलेसम्म कोरोनाभाइरसमुक्त २२१

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

कर्णालीमा ७५ नयाँ सङ्क्रमण

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार उक्त प्रदेशमा सोमवार बिहान मात्रै ७५ नयाँ सङ्क्रमण पुष्टि भएको छ।

त्यहाँ कोभिड-१९ का कुल बिरामी सङ्ख्या १९८ पुगेको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जनाएका छन्।

सोमवार बिहान पुष्टि भएकामध्ये ३२ जनाको सुर्खेतमा र ४३ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा परीक्षण गरिएको मन्त्रालयले बताएको छ।

तीमध्ये एक दुई वर्षीय बालिकासहित तीन बालबालिका छन्। ती सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ।