टर्कीमा पूर्ण लकडाउनविना नै कसरी नियन्त्रणमा आयो कोरोना ?


टर्कीमा कोरोना भाइरस (कोभिड-१९) अन्य मुलुकको तुलनामा केही ढिला आयो । पहिलो संक्रमित मार्च १९ मा फेला परेका थिए । तर त्यसपछि निकै छिटो महामारी मुलुकभर फैलियो । एक महिनाभित्रै यो महामारी मुलुकको सबै ८१ प्रान्तमा फैलिएको थियो ।

टर्की विश्वमा सबैभन्दा छिटो कोरोना भाइरसको महामारी फैलिरहेको थियो । कुनै समयमा टर्कीको अवस्था बेलायत र चीनको भन्दा पनि खराब अवस्थामा पुगेको थियो । यस्तो अवस्थामा टर्कीको अवस्था इटालीको भन्दा भयाबह हुने आशंका गरिएको थियो ।

तर अहिले टर्कीको अवस्था पहिलाको जस्तो छैन । यो अवधिमा टर्कीले पूर्णरुपमा लकडाउन पनि गर्नु परेन । टर्कीमा आधिकारिक रुपमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या चार हजार ३९७ पुगेको छ । धेरैले भने यो संख्या अझै धेरै हुन सक्ने आशंका पनि गरेका छ । किनकी टर्कीमा मृत्यु हुने धेरैको कोरोना परीक्षण गरिएको थिएन । यद्यपि अन्य मुलुकको तुलनामा टर्कीमा कोरोना भाइरसबाट मृत्यु हुनेको यो संख्या कम हो । टर्कीको जनसंख्या साढे आठ करोड छ ।

फरक किसिमको लकडाउन

कुनै पनि मुलुकमा कोरोना भाइरसको महामारी हुनसम्म जानसक्छ भन्ने आकलन विशेषज्ञहरुले समेत गर्न गाह्रो छ । तर युनिभर्सिटी अफ केन्टका संक्रामक रोग विशेषज्ञ प्राध्यापक डा. जेरेमी रोसमेन भने टर्कीले मुलुकमा हुनसक्ने ठूलो क्षतिलाई रोकेको बताउँछन् ।

उनी भन्छन्, ‘टर्की त्यस्ता मुलुकहरुको सूचीमा छ, जसले निकै छोटो अवधिमा परीक्षण, पहिचान, छुट्याउने र आवागमन रोक्नेजस्ता काम गर्‍यो । त्यसैले टर्की निकै प्रभावकारी तरिकाले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सफल मुलुकको सूचीमा परेको छ ।’

कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको समयमा दैनिक जीवनमा केही कामहरुमा रोक लगाइयो । कफी हाउस जान प्रतिबन्ध लगाइएको थियो, शपिङ मल बन्द गरिएको थियो भने मस्जिदहरुमा सामूहिक नमाजमा रोक लगाइएको थियो । ६५ वर्षभन्दा बढी उमेरका मानिसलाई पूर्ण रुपमा लकडाउनमा राखिएको थियो । धेरैको बिदा हुने सप्ताहान्तमा कफ्र्यु लगाइएको थियो र सहरहरुको सीमा सिल गरिएको थियो ।

इस्तानबुल सहर कोरोना भाइरसको महामारीको केन्द्र बनेको थियो । त्यससँगै यो सहरको गति सुस्तायो ।

टर्कीमा कसरी ट्रयाक गरियो कोरोना भाइरस ?

टर्कीमा संक्रमित मानिसहरुको कन्ट्याक्ट ट्रेसिङका लागि ६ हजारभन्दा धेरै मानिसको टोली बनाइएको छ ।

टर्कीमा मार्च ११ मा पहिलो संक्रमित देखिएसँगै कन्ट्याक्ट ट्रेसिङको काम शुरु गरिएको थियो । त्यसअघि कन्ट्याक्ट ट्रेसिङको सबै योजना तयार भइसकेको थियो । यस्तो अवस्थामा विदेशमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको विषयमा सबै डराएका थिए । तर उनीहरुले अन्य मुलुकको तुलनामा निकै छिटो यसलाई नियन्त्रणमा ल्याउन सफल भए ।टर्कीका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का कार्यकारी प्रमुख डाक्टर इरशाद शेख टर्कीबाट सर्वजनिक स्वास्थ्यको विषयमा विश्वले धेरै कुरा सिक्न सक्ने बताएका छन् ।

सुरुमा टर्कीमा दैनिक तीन हजारसम्म नयाँ संक्रमित भेटिन थालेका थिए । तर परीक्षण बढाइएसँगै यसले माहामारी नियन्त्रणको लागि निकै राम्रो काम गर्‍यो । साथै मानिसहरुको परीक्षणको नतिजा पनि एक दिनभित्र आउने व्यवस्था गरियो । टर्कीमा शुरुवातदेखि नै महामारी नियन्त्रणको लागि बिरामीलाई विभिन्न किसिमका औषधिहरु दिनुका साथै प्लाज्मा र उल्लेख्य मात्रामा अक्सिजनको पनि व्यवस्था गरिएको थियो । जसको कारण टर्कीमा कोरोना भाइरसका संक्रमितमध्ये मृत्यु हुनेको संख्या एक प्रतिशतभन्दा पनि कम रहन पुग्यो । जुन टर्कीका लागि एक गर्व गर्न लायक विषय रह्यो । अस्पतालमा पनि बिरामीलाई राम्रो स्याहार प्रदान गरिएको थियो ।

अझै सकिएको छैन लडाइँ

टर्कीको एसोसिएसनले अझै महामारीको विषयमा सरकारको काम सकिएको बताएको छैन । एसोसिएसनले सरकारले चालेको कदम पूर्णरुपमा सही नरहेको बताएको छ । उसका अनुसार सरकारले चालेको काममा धेरै कमजोरी थियो । जत्यसमध्ये एक एक सीमा खुला छाड्नु हो । यद्यपि डब्ल्यूएचओले भने टर्कीको प्रशंसा गरेको छ ।

त्यसो त टर्कीलाई महामारी नियन्त्रणको लागि सहयोग पुग्ने केही कुराहरु पनि थिए । उदाहरणका लागि युवाको र आईसीयू बेडको संख्या धेरै हुनु पनि एक कारण हो । तर, अझै पनि दैनिक करिब एक हजार नयाँ संक्रमित देखिइरहेका छन् । टर्कीलाई अहिले कोरोना भाइरसको महामारी नियन्त्रणमा सफल मुलुकको रुपमा लिन थालिएको छ । तर, अझै पनि मुलुकमा यो महामारी नसकिएको विशेषज्ञहरुले चेतावनी दिएका छन् ।

स्रोत : बीबीसी