विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड-१९) का दुई लाख ६० हजार नयाँ संक्रमित फेला परेका छन् । कोरोना भाइरसको महामारी सुरु भएपछि एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेका हुन् ।
सबैभन्दा धेरै संक्रमित अमेरिका ब्राजिल, भारत र दक्षिण अफ्रिकामा भेटिएका छन् । शनिबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ७१ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने ब्राजिलमा ४५ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् ।
त्यस्तै भारतमा ३४ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् ।पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसको कारण सात हजार ३६० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकैदिन मृत्यु हुनेको यो संख्या गत मे १० यताकै सबैभन्दा धेरै हो ।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण एक करोड ४२ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने यसबाट मृत्यु हुनेको संख्या पनि ६ लाख एक हजार २१३ पुगेको छ
प्रतिक्रिया