सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको शनिबार बसेको सचिवालय बैठकमा वैशाख २० गते जे भएको थियो, त्यो फेरि दोहोरिएको छ।
वैशाख २० को सचिवालय बैठकजस्तै आज पनि सुरू हुनेबित्तिकै प्रधानमन्त्री केपी ओलीले नेतृत्वमा बसेका सबैले आत्मालोचना गरेर पार्टी एकता जोगाउनुपर्ने बताए। ‘मेरा पनि कमी-कमजोरी भए होलान्, म आफ्नो भागको आत्मालोचना गर्छु। सबै मिलेर पार्टी एकता जोगाएर अघि बढौं,’ ओलीले भने। चाँडै महाधिवेशन गरेर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने पनि उनले बताए।
त्यसपछि बोलेका नेकपाका अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको भनाइलाई समर्थन गर्दै भने, ‘हामी दुवैको कुरा त्यही हो। पार्टीलाई एकताबद्ध गर्दै चाँडै महाधिवेशनबाट सबै कुरा सल्टाउँ। मेरो र प्रधानमन्त्रीको त्यसैमा सहमति भएको छ।’
उनले थपे, ‘मैले आलोपालो सरकार चलाउनुपर्ने कुरा पनि छाडेको छु। पार्टी एकता अगाडि बढाउने र चाँडै महाधिवेशन गर्नेबारे हामी दुवैले स्थायी कमिटीमा प्रस्ताव ल्याउने छौं।’
यसअघि वैशाख १७ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको तीखो आलोचना गरेर राजीनामा माग गरेका प्रचण्डले वैशाख २० गते ओली र आफूबीच कुरा मिलेको र पार्टीलाई एकताबद्ध भएर अगाडि लैजाने सहमति भएको बताएका थिए। त्यो दिन पनि प्रचण्डभन्दा अगाडि बोलेका प्रधानमन्त्री ओलीले सबैले आत्मालोचना गर्दै पार्टी एकता अगाडि बढाउनुपर्ने बताएका थिए।
प्रतिक्रिया