बंगलादेशले चिनियाँ कम्पनी सिनोभेकले निर्माण गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल परीक्षणको लागि अनुमति दिएको छ । बंगलादेश दक्षिण एसियाको सबैभन्दा धेरै जनघनत्व भएको मुलुक हो । साथै यो मुलुकमा कोरोना भाइरसका संक्रमित पनि तीव्र गतिमा बढिरहेका छन् ।चिनियाँ कम्पनी सिनोभेक अहिले चीनभन्दा बाहिरका मानिसमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण गराउने योजनामा छ । द इन्टरनेशनल सेन्टर फर डिजिज रिसर्च बंगलादेशले आगामी महिनादेखि यसको परीक्षण सुरु हुने बताएको छ ।
बंगलादेश मेडिकल रिसर्च काउन्सिलका निर्देशक महमुद जहानले समाचार संस्था रोयटर्ससँगको कुराकानीको क्रममा आफूहरुले रिसर्च प्रोटोकलको समीक्षा गरेर नै सैद्धान्तिकरुपमा यसको अनुमति दिएको बताएका छन् ।चार हजार दुईसय मानिसले यो परीक्षणमा सहभागी हुनका लागि आवेदन दिनेछन् । जसमध्ये आधालाई यसमा सामेल गराइनेछ । यो परीक्षण ढाकाको सात कोभिड-१९ अस्पतालहरुमा गरिनेछ ।
बंगलदेशमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख चार हजार ५२५ संक्रमित फेला परिसकेका छन् । करिब तीन हजार मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । सिनोभेकले ब्राजिलमा पनि यसैसातादेखि आफ्नो परीक्षण सुरु गर्दैछ ।
स्रोत : रोयटर्स
प्रतिक्रिया