सकियो प्रतिक्ष्याको घडी: कोरोना भ्याक्सिन बनाउने वैज्ञानिकलाई डब्ल्यूएचओले दियो बधाइ, १० करोड डोज सुरक्षित भईसकेको घोषणा


कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) स्वागत गरेको छ । भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई डब्ल्यूएचओले बधाइसमेत दिएको छ । यद्यपि फैलिँदो संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको डब्ल्यूएचओले जनाएको छ ।

जेनेभामा एक प्रेस कन्फ्रेन्समा बोल्दै डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा. माइक रेयानले अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाइ दिँदै भने, ‘यो सकारात्मक परिणाम हो । तर अझै लामो यात्रा तय गर्न बाँकी छ ।’ उनले ठूलो संख्यामा परीक्षण गर्नुपर्ने पनि बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले निर्माण गरेको खोपलाई आशलाग्दो खोपको रुपमा हेरिएको छ । यद्यपि यसको अन्य सुरक्षात्मक उपाय र ठूलो समूहमा गरिने परीक्षण भने चलिरहेको छ ।यो खोप मान्छेलाई असर नगर्ने तर चिम्पान्जीलाई संक्रमण गराउने भाइरससंग आनुबंशिक मिश्रणद्वारा तयार गरिएको अक्सफोर्ड युनिभर्सिटीले खोप निर्माणको पहिलो चरणमा बताएको थियो । यो खोपलाई कोरोना भाइरसको स्पाइक प्रोटिनलाई निष्क्रिय बनाउने विश्वास गरिएको छ ।

दोस्रो फेजको ट्रायलमा सहभागीमध्ये ९० % लाई पहिलो डोजले नै एन्टिबोडी बिकास गरेको छ भने १० % लाई दुई डोज दिनुपरेको जनाइएको छ । सहभागीमध्ये ७० % लाई ज्वरो आउने तथा टाउको दुख्ने लक्षण देखिएपनि कुनै गम्भीर पार्श्वप्रभाब नभएको अनुसन्धानकर्ताले उल्लेख गरेका छन् ।

तेस्रो तथा अन्तिम चरणको ट्रयालमा बेलायतमा १,००,००० व्यक्तिलाई, अमेरिकामा ३०,००० व्यक्तिलाई, दक्षिण अफ्रिकामा २,००० व्यक्तिलाई र ब्राजिलमा ५,००० व्यक्तिलाई समाबेश गरिने विश्वविध्यालयले बताएको छ । यो बर्षको अन्त्यसम्म स्वास्थ्यकर्मी तथा जोखिम बर्गमा रहेका व्यक्तिलाई खोप दिने तथा अर्को बर्षको मध्यसम्म ठूलो मात्रामा वितरण भएर विश्वका अधिकांश देशमा पुर्याउने उत्पादकको दावी छ ।

कोरोनाविरुद्ध हाल विश्वभर २३ भ्याक्सिन बनाउने काम जारी छ । डा. रेयानले कोरोनाको उपचार खोज्ने दिशामा धेरै भ्याक्सिनमाथि काम भइरहनु राम्रो हो ।’Bयसैगरी डब्ल्यूएचओका प्रमुख डा. टेड्रोसले कुनै पनि सफल भ्याक्सिन सबै देशका नागरिकले पाउनु पर्ने बताएका छन् ।

यो खोपले कसरी काम गर्छ ?

यो भ्याक्सिनलाई ChAdOx1 nCoV-19 नाम दिइएको छ । यसलाई एमदमै छिटो विकास गरिएको हो । यो खोपलाई जेनेटिकल्ली इन्जिनियर्ड भाइरसको मद्दतबाट तयार गरिएको हो, यो भाइरसका कारण चिम्पान्जीलाई सामान्य रुघाखोकी लाग्छ ।

उक्त भाइरसलाई धेरै नै संशोधन गरिएको छ ताकि यसबाट मानिसमा संक्रमण नहोस् र यो काफि हदसम्म कोरोना भाइरसजस्तो लागोस् । यो भ्याक्सिन सामान्यतः कोरोना भाइरसजस्तै देखिन्छ तर बिस्तारै प्रतिरोधात्मक प्रणालीले यसमाथि हमला गर्न सिक्न सक्छ ।

एन्टी बडिज र टी कोशिकाहरु के हो ?

कोरोना भाइरसलाई लिएर अहिलेसम्म धेरै ध्यान एन्टीबडी तयार गर्नका लागि दिइएको छ । तर यो हाम्रो प्रतिरोधात्मक प्रणालीको एउटा भाग हो । एन्टी बडिज् हाम्रो इम्युन सिस्टमद्वारा तयार गरिएको सानो सानो प्रोटिन हो जुन भाइरसको सतहमा टाँसिन्छ ।

यो एन्टीबडीले कोरोना भाइरसलाई निष्क्रिय बनाउन सक्छ । टी सेल हाम्रो सेतो रक्त कोशिकाको एक प्रकार हो जसले इम्युन सिस्टमलाई सहयोग गर्दछ । यसका साथै शरीरको कुन कुन कोशिका संक्रमित भइसकेको छ थाहा पाएर त्यसलाई नष्ट पनि गर्दछ ।

सबै कामकाजी भ्याक्सिन एन्टीबडी तयार गर्नुका साथै टी-सेल प्रतिक्रियामा पनि उपयुक्त हुन्छ । भ्याक्सिन लगाएको १४ दिनपछि टी सेलको स्तर आफ्नो उत्कर्षमा पुग्छ, जबकि एन्टी बडीलाई उत्कर्षमा पुग्न २८ दिन लाग्छ । लामो समयसम्म इम्युनिटीलाई लिएर यो भ्याक्सिनको असरमाथि अहिले नै अध्ययन भइसकेको छैन ।

के यो सुरक्षित छ ?

यो खोप पूर्णरुपमा सुरक्षित छ । तर यसका केही साइड इफेक्टहरु छन् । यद्यपि, कुनै पनि साइड इफेक्ट्स अत्यधिक हानिकारक हुँदैनन् । तर भ्याक्सिन लिने ७० प्रतिशत मानिसमा ज्वरो र टाउको दुख्ने लक्षण देखिन सक्छ ।शोधकर्ताहरुका अनुसार यी समस्याहरुलाई केवल प्यारासिटामोलबाट हटाउन सकिन्छ । अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर सारा गिलबर्टका अनुसार यो भ्याक्सिन कोभिड-१९ का विरुद्ध सफल छ भनेर पुष्टि गर्नुअघि अझै धेरै काम गर्न बाँकी छ । तर यो भ्याक्सिनको सुरुवाती नतिजा एकदमै उत्साहवर्द्धक छ ।