१२० दिन लामो लकडाउन हट्यो, तर केही प्रतिबन्ध कायमै


१२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो । कोरोन भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो ।

पटक पटक म्याद थपेर जेठ २६ सम्म पूर्ण रुपमा कायम रह्यो । त्यसपछि निजी सवारी जोर विजोर प्रणालीमा र पसल सञ्चालन गर्न दिएको सरकारले क्रमशः लकडाउन खुकुलो बनाउँदै लगेको थियो ।मंगलबार मध्यरातबाट लकडाउन पूर्ण रुपमा हटेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

के केमा प्रतिबन्ध कायमै छ ?

तर सरकारले केही क्षेत्रमा प्रतिबन्ध कायमै राखेको छ ।
शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् । तर सरकारले होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न अनुमति दिएको छ । भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न छुट दिएको छ ।