नेपाल-भारत द्वन्द चर्केसँगै नेपाली भूभाग कालापानीमा तनाब बढेको छ। विगतमा सजिलै आवतजावत हुने काली मुहान नजिकैसम्म सिमा सुरक्षाको लागि खटिएको सशस्त्र प्रहरी बल जान खोज्दा लखेटीएको छ। आधुनिक हतियारले सुसज्जित भारतीय सिमा सुरक्षा बल एस.एस.बीले गस्ती गर्न नपाउने भन्दै सामान्य हातहतियार, लाठी बोकेका सशस्त्रको टोलीमाथि धरपकड गरेको हो।
प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा गएको सशस्त्र प्रहरी गस्ती टोलीलाई भारतीय एसएसबीले लखेटेको हो। व्यासमा खटिएका एक नेपाली सुरक्षाकर्मीका अनुसार भारतीय सुरक्षाकर्मीहरुले महाकालीको मुहानसम्म जान रोक लगाएको छ। ‘बिना हतियार त्यहाँसम्म जान दिन आग्रह गर्यौं,’ ती सुरक्षाकर्मीले भने, ‘तर उनीहरुले त्यो ठाउँसम्म जान नपाइने भन्दै रोके।’
नेपालका सुरक्षाकर्मी कौवा क्षेत्रमा जानेबित्तिकै भारतपट्टिबाट सुरक्षाकर्मीले रेकी गर्छन्। गस्ती गरेको बारे उनीहरुले माथिल्लो क्षेत्रमा मोटरसाइकलमा परिचालन भएर खबर गर्ने गरेका छन् । कालापानी क्षेत्रमा प्रवेश गर्न नदिने माथिकै आदेश छ भन्दै एसएसबी (सशस्त्र सीमा बल) ले रोक्ने गरेका छन्।
व्यासको गागामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीले काली मन्दिरसम्म जाने प्रयास गरे पनि भारतीय सुरक्षाकर्मीले अवरोध गर्ने गरेका थिए। यसपाली त हद नै नागेर धरपकड गर्दै लखेटेका हुन्।
चीनसँग पछिल्लो समय सीमा विवाद बढेपछि कालपानी क्षेत्रमा भारतीय सुरक्षाकर्मीले बाक्लो उपस्थिति जनाएको छ । यो क्षेत्रमा दैनिक सयौँ गाडीमा सुरक्षाकर्मी पुर्याइएको छ।
सरकारले जारी गरेको नयाँ नक्साअनुसार नेपालका तीन गाउँ कुटी, गुञ्जी र नावी अहिले पनि भारतमा छन् । पुरानो नक्साअनुसार ६२ वर्गकिलोमिटरभित्रको कालापानी क्षेत्रसम्म पनि नेपालीको पहुँच पुगेको छैन ।
नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतले कालापानीभन्दा झण्डै एक किलोमिटर तलसम्म छेकबार लगाएको छ। त्यस्तै तैनाथ हुने सुरक्षा फौज पनि बढाएको छ ।
प्रतिक्रिया