रञ्जन कोइरालालाई दिइएको सजाय सहुलियतप्रति सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया उत्पन्न भएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सो मुद्दामा फैसला गर्ने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीलाई महाअभियोग लगाउन माग गरेका छन्।
यस्तो माग गर्नेहरुमा पूर्वप्रधानमन्त्री र सांसदलगायत सत्तारुढ र विपक्षी पार्टीका नेताहरु समेत छन्।२०६८ सालमा श्रीमतीको हत्या गरी शवसमेत नष्ट गरेका तत्कालीन डीआईजी कोइरालालाई २०७१ वैशाख ७ गते काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। उसले हत्याबाट नै श्रीमती गीता ढकालको मृत्यु भएको ठहर गरेको थियो।
पुनरावेदन अदालत पाटनले पनि त्यसैलाई सदर गरेको थियो। जेल सजाय भोगिरहेका कोइरालालाई सर्वोच्च अदालतले गत असार दोस्रो साता फैसला गर्दै २० वर्षको कैदलाई साढे ८ वर्ष हुने भनी सजाय घटाएको थियो। जसकारण, कोइराला बिहीबार कारागारबाट घर फर्केका छन्।
जघन्य अपराधमा पनि आफूअनुकूल र कानुनको नमिल्दो व्याख्या गरी सजाय सहुलियत दिएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।पूर्व प्रधानमन्त्री तथा जनता समाजवादीका नेता डा बाबुराम भट्टराईले देश गम्भीर संकटतिर गइरहेको बताएका छन्। उनले संकटमोचनका लागि केही सुझाव व्यक्त गरेका छन्। जसमध्ये एक न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने बताएका छन्।
प्रतिक्रिया