पत्नी राधिकासँगै प्रधानमन्त्री ओली बामदेवको घरमा !


प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपीशर्मा ओली भैंसेपाटीस्थित उपाध्यक्ष बामदेव गौतमको घरमा पुगेका छन्।  पत्नी राधिका शाक्यको साथमा ओली गौतमको घरमा पुगेका हुन्। ‘पत्नीलाई सँगै लिएर उहाँ गौतमको घरमा जानुभएको हो’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ‘यो विल्कुलै पारिवारिक भेटघाट हो, राजनीतिक होइन।’

पार्टी महासचिव विष्णु पौडेल पनि गौतमकै घरमा छन्। गौतम र पौडेल छिमेकी हुन्।  नेकपाभित्र विवाद चर्किएका बेला ओली गौतमको घरमा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

उपाध्यक्ष गौतमले पार्टीभित्र सहमतिका लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका छन्।  स्रोतका अनुसार बामदेवले राखेको ६ बुँदे प्रस्तावमा ओली सकारात्मक देखिएका छन्।

यसअघि ओलीले आजको स्थायी समिति बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमतिबिना नै स्थगित गरेका थिए। गौतमले साे प्रस्ताव आज ओलीइतर स्थायी समिति बैठकमा पनि राखेका थिए।

पार्टी एकता सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपर्दा पार्टी सचिवालयमा परामर्श गर्नुपर्ने गौतमको सुझाव छ।

उनले मन्त्रिपरिषद पुनर्गठनका प्रस्ताव पनि राखेका छन्।

‘पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने,’ गौतमले भनेका छन्, ‘संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु पूर्व सचिवालयमा परामर्श लिने।’ साथै उनले प्रधानमन्त्री निवासमा पार्टीका बैठक नगर्न पनि सुझाव दिएका छन्। ‘अबदेखि पार्टीका बैठकहरू पार्टी कार्यालयमा आयोजना गर्ने,’ उनले भनेका छन्।