उपत्यकामा एकै दिन थपिए १०२ संक्रमित, १६ जना सम्पर्क विहिन !


काठमाडौं उपत्यकामा बुधबार साँझसम्म १०२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा एकै दिन सय भन्दा धेरे व्यक्तिमा कोरोना पुष्टि भएको यो पहिलो पटक हो। एकै पटक संक्रमितको संख्या बढ्दा अस्पतालमा शैय्या अभावले काठमाडौं उपत्यकामा मंगलबार संक्रमण पुष्टि भएका मध्ये १४ जनालाई घरमै राख्नुपरेको थियो । उनीहरूमध्ये केहीलाई बुधबार बिहान केएमसी अस्पताल दुवाकोट र कीर्तिपुरको आयुर्वेद अस्पतालको आइसोलेसनमा राखियो ।

उपत्यकामा बुधबार १ सय २ जना संक्रमित थपिए । यी मध्ये अधिकांश उपत्यका बाहिरबाट आएकाहरू हुन् ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाका अनुसार बुधबार संक्रमण देखिएका १०२ जनामध्ये १६ जना सम्पर्क विहिन छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार अस्पतालमा कतै पनि बेड खाली नभएपछि घरमै बस्न चाहने लक्षण नभएकालाई अनुमति दिइएको छ । उपत्यकामा संक्रमितको संख्या बढेपछि संक्रमितको व्यवस्थापनमा भने चुनौति थपिएको छ। उपत्यकामा संक्रमित अस्पताल पुर्‍याउनका लागि एम्बुलेन्सको संख्या समेत निकै कम छ।

कोरोना संक्रमितको व्यवस्थापनका खटिएका कर्मचारीलाई अबेर रातीसम्म संक्रमितलाई कुन अस्पतालमा लगेर व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्छ। उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंका लागि जम्मा ३ वटा मात्र एम्बुलेन्स व्यवस्था भएकाले समयमा सबैलाई सम्पर्क गरी अस्पताल लैजान समस्या रहेकाे छ ।