भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको सोमबार पुष्टि गरिएको छ । उहाँ हालै कोरोनाभाइरसबाट सङ्क्रमितको सम्पर्कमा रहेको पत्ता लागेपछि परीक्षण गर्दा उहाँलाई पनि सङ्क्रमण पुष्टि भएको हो ।आफूलाई सङ्क्रमण पुष्टि भएपछि उहाँले पछिल्लो हप्ता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन र कोरोनाभाइरसको परीक्षण गर्न आग्रह गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल ट्वीटरमा सोमबार लेख्नुभएको छ, “मलाई आज कोरोनाभाइरसको सङ्क्रमण भएको भएको छ, पछिल्लो हप्ता मेरो सम्पर्कमा रहनु भएका सवैलाई उच्च सतर्कताका साथ आफै एकान्तबासमा बस्न र कोरोनाभाइरसको परीक्षण गर्न आग्रह गर्दछु ।” भारतमा उमेरले ८० बर्ष पुरा गरेका नेताहरुमध्ये कोरोनाभाइरसबाट सङ्क्रमित भएको उहाँ पहिलो होइन, यसअघि अरु पनि धेरै बृद्ध नेताहरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो ।
केन्द्रीय गृह मन्त्री अमित शाह, राज्य मन्त्री अर्जुन राम मेघवाल, प्रदेशका कृषि मन्त्री कैलाश चौधरीलगायतलाई पनि कोरोनाको सङ्क्रमण पुष्टि गरिएको थियो ।त्यसैगरी तमिल नाडुका गभर्नर बनवारीलाल पुरोहित, मुख्यमन्त्री विएस येडियुराप्पा, कर्नाटक प्रदेशका स्वास्थ्यमन्त्री बी श्रीरामुलुलगायतलाई पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो ।
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ६२ हजार ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । दैनिक हजारौमा सङ्क्रमण देखिएपनि भारतमा अहिलेसम्म १५ लाखभन्दा बढी सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण एक हजार सात जनाको मृत्यु भएको जनाएको छ । योसँगै कुल मृतकको सङ्ख्या ४४ हजार ३८६ पुगेको छ ।
प्रतिक्रिया