अमेरिकामा रहेका नेपाली विद्यार्थीहरुले ‘युनिकर्न गेम्स’ नामक एक गेम डेभपमेण्ट स्टुडियो तयार गरेका छन् । यो कम्पनी पोल्यान्डमा आधारित ‘बुम बिट’ नामक कम्पनीसँगको साझेदारीबाट नेपालमा संचालनमा आउने तयारीमा रहेको छ ।
उक्त साझेदारीको आधारमा युनिकर्न गेम्सले नेपालमा रहेको करुवा पब्लिसिङ नामक कम्पनीसँगको समन्वयमा आफ्नो स्रोत र प्रयासहरू विभिन्न गेम डेभपमेण्टमा लगानी गर्ने बुझिएको छ ।
स्रोतहरुको उपयोग गर्दै करूवा पब्लिसिङले नेपाललगायत साउथ एसियाका देशहरुमा गेम डेभलपमेण्टको क्षेत्रमा आधुनिक तथा नयाँ पद्धतिका माध्यमबाट गेम डेभलपरहरुलाई प्रशिक्षित गर्ने काम गर्ने छ ।
त्यसैगरी, यसले गेम डेभलप्मेन्टलाई प्राथमिकता दिँदै समान रुपका अन्य परियोजनाहरुमा योग्य गेम डेभेलपरहरुलाई परिचालन गरी गेम उत्पादन गर्नेछ । यसबाहेक करुवा पब्लिसिङले डेभेलपरहरुलाई उचित पारिश्रमिक प्रदान गर्दै मिहिनेती डेभेलपरहरुलाई गेम ईन्डस्ट्रीको लागि सर्वश्रेष्ठ योगदान दिनको लागि प्रोत्साहित गर्ने बताइएको छ ।
नेपालमा आजसम्म खेल उद्योगमा अन्तर्राष्ट्रिय कम्पनीहरूसँग कुनै खास सहकार्य भएको छैन । तसर्थ, बुमबिट जस्ता स्थापित संस्थाको पर्याप्त सहयोगमा, करुवा पब्लिसिङ नेपाली गेम डेभेलप्मेन्ट स्टुडियोहरूको लागि एक्सिलरेटर (प्रशिक्षण र स्रोतहरू प्रदान गर्ने) चलाउने पहिलो कम्पनी बन्ने युनिकर्न गेम्सका पब्लिक रिलेशन मेनेजर सरद अर्यालले बताए ।
करूवा पब्लिसिङका प्रमुख कार्यकारी अधिकृत गोपाल चितौरे साउथ एसियन गेम डेभलपरहरूलाई विश्व बजारको स्तरमा पुऱ्याउने लक्ष्य रहेको बताउँछन् । उनले भने, ‘हामी गेम डेभलपमेण्टको क्षेत्रमा गुणात्मक काम गरी नेपाललाई विश्व मानचित्रमा स्थापित गराउन चाहन्छौँ । बुम बिटसँगको साझेदारीले निश्चित रूपमा हामीलाई हाम्रो लक्ष्य हासिल गर्न मद्दत गर्दछ भन्नेमा हामी अत्यन्तै आशावादी छौँ ।’
त्यस्तै, बुमबिट पब्लिसिङका ‘भाइस प्रेसिडेन्ट’ जोन हुक करूवा टिमलाई गेम डेभलपमेण्टको प्रशंगमा सपोर्ट गर्न पाउँदा गौरवान्वित भएको बताउँछन् ।
प्रतिक्रिया