२७ डिसेम्बरबाट बलिउड सुपरस्टार सलमान खान ५५ वर्षका भएका छन् । बक्सअफिसका हिट मेशिन मानिने उनको भारतसँगै विश्वभर जबरजस्त फ्यान फलोइंग छ । कोरोनाका कारण यसपालीको जन्मदिन परिवारसँग मनाएका उनले आफ्ना प्रशंसकलाई घरमै सुरक्षित रुपमा बस्न आग्रह गरेका छन् ।
यद्यपि, उनका प्रशंसकले भने उनको जन्मदिन विशेष रुपमा मनाएका छन् । नेपालमा पनि उनको जन्मदिन सेलिब्रेट गरिएको छ । आइतवार उनका प्रशंसकहरुको ठूलो समुहले केक काटेर जन्मदिन मनाएको थियो भने सोही साँझ दरबारमार्गस्थित किङ्ग्स लन्जमा सलमानले सञ्चालन गरेको गैरसरकारी संस्था ‘बिइङ्ग ह्युमन’ को नेपाल फ्रेन्चाइज लिएको समुहले नेपाली सेलिब्रेटीहरुको उपस्थितिमा भव्य रुपमा सलमानको जन्मदिन सेलिब्रेट गरेको छ ।
‘बिइङ्ग ह्युमन क्लोथिङ नेपाल’ को समुहले आयोजना गरेको बर्थ-डे सेलिब्रेसन कार्यक्रममा अभिनेता भुवन केसी, अभिनेत्री सुष्मा कार्की, अभिनेता प्रशान्त ताम्राकारलगायतको उपस्थिति रहेको थियो । सलमानको ठूलो प्रशंसक बताउने अभिनेत्री सुष्मा बर्थ-डे केट काट्ने क्रममा निकै रमाएकी थिइन् । सो अवसरमा उनले सलमानसँग लण्डनमा भेट हुँदाको क्षण पनि स्मरण गरिन् ।
‘बिइङ्ग ह्युमन क्लोथिङ नेपाल’ का डाइरेक्टर सुरज केसीले आइतवार सलमान खानको जन्मदिनको अवसरमा सिडिएनए संस्थासँग मिलेर कपनमा अशक्तहरुलाई ४५ हजार बराबरको खाद्यन्न सहयोग गरेको जानकारी दिए । नेपालमा ‘बिइङ्ग ह्युमन’ अंकित पोशाकको बजार निकै राम्रो रहेको उनको भनाई छ । कोरोनाले भने व्यापारमा केही कमी आएको उनी बताउँछन् ।
सलमान खानलाई नेपाल ल्याउन पनि पहल भइरहेको उनले बताए । ‘गएको मे १६ मा सलमान खान नेपाल आउने निश्चित भएको थियो । तर, कोभिड १९ का कारण स्थगित भयो । अब कोरोनाको स्थिति सामान्य भएपछि उहाँलाई नेपाल ल्याउन पुनः पहल गर्नेछौं,’ उनले भने । दरबारमार्गको नेपाल इन्भेष्टमेन्ट बैंकको अपोजिटमा रहेको ‘बिइङ्ग ह्युमन’ स्टोरका अध्यक्ष राजु थापा हुन् ।
प्रतिक्रिया